नेपाली नारीहरुको प्रमुख सांस्कृतिक पर्व तीजको अवसरमा यस वर्ष पहिलोपटक लन्डनको रोयल बरो अफ ग्रीनवीचमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

यो कार्यक्रम अगष्ट ३१ तारिख शनिबार साँझ वुल्लीच टाउन हलमा हुनेछ, जहाँ बरोका विशेष समारोहहरु नियमित रुपमा सम्पन्न हुदै छ।

कार्यक्रमको आयोजना बरोकी मेयरेस गौमाया गुरुङ रानाभाटको आव्हानमा गरिएको हो भने ग्रीनवीच बरोको समर्थनमा यो तीज उत्सवलाई सम्पन्न गरिनेछ। कार्यक्रममा तीजको विशेष नृत्य, डिजे डान्स, र स्वादिष्ट नेपाली परिकारहरुसहित तीजको दरसमेत सर्भ गरिनेछ। सोही अवसरमा नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका सुशिला गौतमले आफ्नो विशेष प्रस्तुति दिने भएकी छिन्।

यस तीज कार्यक्रमको मुख्य उद्देश्य मेयर च्यारिटीका लागि कोष संकलन गर्नु हो। ग्रीनवीच बरोका मेयर जीत रानाभाटले वुल्लीचस्थित कमनवेल्थ एण्ड गोर्खा गार्डेन र बावेल क्यान्सर यूकेलाई सहयोग गर्ने योजना बनाएका छन्। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन ग्रीनवीच बरोले नै गर्नेछ भने हरेक सहभागीबाट २५ पाउण्डको दरले च्यारिटी कोष संकलन गरिनेछ।

ग्रीनवीच बरोकी मेयरेस गौमाया गुरुङ रानाभाटले वुल्लीच टाउन हलमा हुने तीज उत्सवमा स्थानीय नेपाली दिदीबहिनीहरुलाई सहभागी हुन आव्हान गरेकी छन्। मेयर जीत रानाभाटले भने अनुसार, यो तीज कार्यक्रम यस वर्ष पहिलोपटक बरोको औपचारिक सिभिक इभेन्टको रुपमा आयोजना हुँदैछ। भविष्यमा यसलाई बरोको वार्षिक क्यालेन्डरमा समावेश गरी हरेक वर्ष नियमित रुपमा आयोजना गरिनेछ।

रानाभाटले यस कार्यक्रमबाट संकलित कोषबाट कमनवेल्थ एण्ड गोर्खा गार्डेनलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताएका छन्। कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्दै, उपस्थित हुन नसक्नेहरुले पनि स्वेच्छिक रुपमा च्यारिटीमा योगदान दिन सक्ने जानकारी गराएका छन्।

झण्डै तीन महिनाअघि ग्रीनवीच बरोको मेयरमा निर्वाचित भएका जीत रानाभाट नेपाली मूलबाट काउन्सिलर वा मेयरमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्। कार्यक्रम स्थलमा सीमित सीट रहने भएकाले ‘फर्स्ट कम, फर्स्ट सर्भ’ को आधारमा स्थान उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको