काठमाडौँ : कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आयोजित समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो। बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमोचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि तथा गीतकार दिनेश अधिकारी र श्रवण मुकारुङ तथा प्राज्ञ प्रतिशरा सायमी पुस्तक सार्वजनिक गरेका हुन्।
कवि मुकारुङले ‘अस्तित्वको ब्रह्माण्डुका कविता पढ्दै जाँदा वरिष्ठ कवि मोहन कोइरालाको झझल्को आउने र यसरी झझल्को आउनु एउटा कविको सफलता भएको बताए। सङ्ग्रहित कवितामा कविताका विविध आयामलाई समेटिएका छन्। जुन ज्ञान र ध्यानले मात्र सम्भव हुने उनको भनाइ थियो। सङ्ग्रहमा स्वच्छन्द र परिस्कृत कविता रहेको उनको भनाइ थियो।
कवि एवं प्राज्ञ सायमीले अधिकारीका कविताहरू निकै शक्तिशाली रहेको बताइन्। कवि दिनेश अधिकारीले प्रज्वल नेपाली समकालीन समयमा चिनाइरहनुपर्ने नाम नभएको र सङ्ग्रह वर्तमान समयको काव्यिक दस्तावेज भएको बताए।
कार्यक्रमको सञ्चालन बुकहिल पब्लिकेसनका प्रकाशक एवं गीतकार भूपेन्द्र खड्काले गरेका थिए । अस्तित्वको ब्रह्माण्ड अधिकारीको पहिलो कविता सङ्ग्रह हो। ७१ वटा कविता सङ्ग्रहित यस पुस्तकको मूल्य रु ६०० रहेको छ।




