काठमाडौं । बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रका पीडितलाई ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल हस्पिटलले राहत सामग्री वितरण गरेको छ।
बाढी आएलगत्तै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको हस्पिटलले शनिबार र आइतबार पनि बाढी प्रभावित क्षेत्रमा पुगेर होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका पीडितलाई अत्यावश्यक खाद्यान्नदेखि स्वास्थ्य सामग्रीसम्म वितरण गरेको हो।
होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढीपीडितलाई अस्पतालले एलपीजी ग्यास, खाद्यान्न, दाल, चामललगायत विभिन्न मेडिकल सामग्री वितरण गरेको जनाएको छ। त्यस्तै, बाढीमा आफन्त गुमाएका परिवारलाई लत्ताकपडासमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ।
बालबालिकाका लागि आवश्यक कपडाका सेट, महिलाका लागि स्यानिटरी प्याड तथा मास्क र सुत्केरी महिलाका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएको छ।

बाढीका कारण पीडित बनेका नागरिकको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले राहत सहयोग गरिएको हस्पिटलले जनाएको छ। हस्पिटलका अनुसार सहयोगको पहिलो चरणमा पीडितका लागि अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो।

अब दोस्रो चरणमा बाढी प्रभावित परिवारका लागि आवासको व्यवस्था गर्नेसमेत लक्ष्य रहेको अस्पतालले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत सहयोग गर्ने अस्पतालको प्रतिबद्धता छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको आवश्यकता अझै रहेको भन्दै अस्पतालले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।




