काठमाडौँ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ८ सय भन्दा बढी इन्जिनियरहरू बेपत्ता भएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनका कार्यसमिति सदस्य यमकृष्ण पौडेलले दिएको जानकारी अनुसार बाढीका कारण ठूलो संख्यामा प्राविधिक तथा इन्जिनियरहरू सम्पर्कविहीन बनेका हुन्। उनीहरूकाे खाेजी कार्यमा तदारूकता देखाउन एसाेसियसले सरकारलाई दबाब दिइरहेकाे छ ।
यसैबित, आज सरकारले राष्ट्रिय शाेक घाेषणा गरेकाे छ । यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले देशैभर शोक सभा गर्ने भएकाे छ । बेपत्ता भएकाहरूको खोजतलास तथा उद्धार कार्यलाई तीव्र बनाउन एसोसिएसनले सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ। शाेक सभालाई आफ्ना बेपत्ता इञ्जिनियरकाे खाेजीकालागि दबाब कार्यक्रमका रूपमा अघि बढाइने पाैडेलले बताए ।
एशोसिएसनले देशभर बाढी तथा विपद्मा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै छ । सातै प्रदेशमा एकैसाथ दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। एशोसिएसनको केन्द्रीय आयोजनामा काठमाडौंको माइतीघर मण्डला तथा सातै प्रदेशका सम्बन्धित केन्द्रमा दीप प्रज्वलन गरिने जनाइएको छ।
एशोसिएसनले विनाशकारी बाढी तथा विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कार्यक्रममा विपद्का कारण प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संकटको यस घडीमा राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरिनेछ।
विशेषगरी भोटेकोशी, रसुवा लगायतका क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति एशोसिएसनले गम्भीर चासो व्यक्त गरेको छ। विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरिएको छ।
इन्जिनियर्स एशोसिएसनले उद्धार तथा राहतसँगै जोखिममा रहेका बस्तीहरूको प्राविधिक मूल्यांकन, क्षतिग्रस्त पूर्वाधारको तत्काल मर्मत तथा सुरक्षित पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। विपद् व्यवस्थापनमा इन्जिनियरिङ जनशक्तिको प्राविधिक क्षमता र विशेषज्ञतालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने एशोसिएसनको भनाइ छ।




