काठमाडौं : सामाजिक सञ्जालमा स्ट्याटस लेखेकै आधारमा एक पत्रकारलाई पक्राउ गरिएको छ। मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई शुक्रबार दिउँसो मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो।

खोलाको बगरमा युवा समूहले मैदान बनाउन लागेपछि उर्लाबारी नगरपालिका–७ ले रोक्यो। झाडी उखालेर सबै सफा पारिसकेको अवस्थामा पार्क बनाउने भन्दै वडाले अवरोध गरेपछि युवाहरू विरोधमा उत्रिए। उनीहरूले केही दिन आन्दोलन नै गरे। त्यसअघि सो ठाउँ लागुऔषधको अखडा थियो। त्यहाँ युवायुवती, किशोरकिशोरी डेटिङ्गमा आउँथे।

सो सन्दर्भमा बुधबार पत्रकार खड्काले ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्दै वडाध्यक्ष उर्मिला थापालक्षित स्ट्याटस लेखेका थिए। उनको स्ट्याटसमाथि आपत्ति जनाउँदै वडाध्यक्ष थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उजुरी हालिन्।

ईलाका प्रहरी कार्यालय,उर्लाबारीले उनलाई घरबाटै समातेको छ। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गरेको विषयलाई लिएर पक्राउ परेका पत्रकार खड्कालाई तत्काल रिहा गर्न नेपाल प्रेस युनियन मोरङले माग गरेको छ।

खड्का नेपाल प्रेस युनियन मोरङका सदस्य समेत हुन्। प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार खड्काको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विनाशर्त तत्काल रिहाइको माग गरिएको छ।

अभिव्यक्ति आपत्तिजनक वा कानुनविपरीत भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको युनियनको ठहर छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको