भोटेकोशी, सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता र एक मृतक परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइनेछ। जोखिममा परेकाको हवाई उद्धार गरिने,बाढी तथा पहिरोका कारण सडक र पुल अवरुद्ध हुँदा जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ।

उद्धार कार्यका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको यकिन विवरण वडा कार्यालयमार्फत संकलन भइसकेको छ।

पीडित परिवारलाई आवश्यकताअनुसार खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको दाहालले बताए। खोजी, उद्धार, उपचार, सुरक्षित स्थानान्तरण तथा पुनःस्थापनामा लाग्ने आवश्यक खर्चसमेत गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरिएको छ।

दाता तथा संघ–संस्थालाई सहयोगको आह्वान

बाढीपीडित नागरिकलाई सहयोग गर्न इच्छुक संघ–संस्था तथा व्यक्तिहरूलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ। गाउँपालिका अध्यक्ष शेर्पाले सामाजिक संघ–संस्था तथा विभिन्न दातासँग समन्वय गरी बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन गाउँपालिका निरन्तर सक्रिय रहेको बताए।

बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णयसमेत गरेको छ। गाउँपालिकाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको