काठमाडौं । उद्धार तथा राहत कार्यमा ढिलाइ भएको भन्दै नेपाल इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवास चन्द्र बरालले सरकारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बरालले सामाजिक सञ्जालमार्फत ‘हेल्लो सरकार’ भन्दै उद्धार कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका हुन्। उनले विपत्तिमा परेका इन्जिनियर तथा अन्य सहयोगी कामदारको जीवनरक्षाका लागि सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘धेरै ढिला भयो। तिमीमाथि विश्वास थियो, तर अब डर लागिरहेको छ।’बरालले आफूहरू आफ्ना इन्जिनियर साथीहरू तथा अन्य सहयोगी कामदार गुमाउन नचाहेको उल्लेख गर्दै उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
उनले विपत्तिमा परेकाहरूको जीवनरक्षाका लागि सबैले आवाज उठाउनसमेत अपिल गरेका छन्। ‘हामी हाम्रा इन्जिनियर साथीहरू र अन्य सहयोगी कामदारहरू गुमाउन चाहँदैनौँ। साथीहरू, विपत्तिमा परेकाहरूको जीवन रक्षाका लागि सबैले आवाज उठाऔँ,’ बरालले भनेका छन्।




