काठमाडौं। नेपालमा मनसुन भित्रिने औसत मिति (जुन १३ तारिख) नजिकै आउँदा पूर्वी वायुको आंशिक प्रभाव सुरु भएको छ।
मौसमविद्का अनुसार पूर्वी वायु नै मनसुनको संकेत हो।
‘तर त्यसको स्ट्रेन्थ पुगिनसकेकाले मनसुन भित्रिसकेको भन्न मिलेन’, मौसम महाशाखाका मौसमविद् विभूति पोखरेलले भनिन्, ‘यो प्रभाव फेरि भोलि नै हट्न पनि सक्छ।’
उनका अनुसार पूर्वी अर्थात् मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको घोषणा गर्न मिल्छ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति (जुन १३ तारिख) भोलि शनिबार हो।
‘आजभोलि नै मनसुन प्रवेशको घोषणा गरिएन भने यसपटक मनसुन औसत मितिभन्दा ढिला हुन सक्छ’, मौसमविद् पोखरेलले भनिन्।
मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव छ।
यतिबेला (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा आंशिक बादल तथा बाँकी प्रदेशमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।



