तेजन खड्का
झापा । प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–९ र १० को सिमाना क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।
वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरू धानको बेर्ना बोकेर पुगेका थिए। उनीहरूले सडकलाई नै खेतको प्रतीक बनाएर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
स्थानीयका अनुसार सडक निर्माणका लागि पटक–पटक आवाज उठाइए पनि कुनै निकायले गम्भीर चासो नदिएपछि बाध्य भएर सांकेतिक विरोधमा उत्रनुपरेको हो। वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेको छ भने सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिन भएको छ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधिहरूले चुनावका बेला मात्रै जनताको घरदैलोमा पुग्ने तर निर्वाचित भएपछि समस्या बिर्सिने गरेको गुनासो गरे।
हामीले धेरै पटक यो सडक बनाउन आग्रह गर्यौं। वडा, नगरपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई समेत भन्यौं। तर वर्षौं बित्दा पनि सडक उस्तै छ। अहिले सडक हो कि खेत छुट्याउनै गाह्रो छ। त्यसैले खेत नबनेको ठाउँमा धान रोप्ने होइन, सडक नै खेत बनेपछि धान रोपेर विरोध गर्नुपरेको हो, उनले भने।
उनले थपे, जनताले कर तिर्ने, भोट दिने तर आधारभूत सुविधा पाउन नसक्ने अवस्था दुःखद हो। बिरामीलाई अस्पताल लैजान समस्या छ, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। विकासका भाषण धेरै सुन्यौं तर व्यवहारमा हिलो र धुलो मात्रै पायौं।
त्यस्तै किसान सुरेश धिमाल ले सडकको समस्या नयाँ नभएको बताउँदै वर्षौंदेखि स्थानीयले सास्ती भोगिरहेको बताए।
“वर्षामा हिलो र हिउँदमा धुलो। सडकको अवस्था यति खराब छ कि कतिपय बेला मोटरसाइकलसमेत चलाउन सकिँदैन। बालबालिका विद्यालय जाँदा लड्ने, वृद्धवृद्धा हिँड्न नसक्ने अवस्था छ। चुनावका बेला सबैले सडक बनाइदिन्छौं भन्छन् तर चुनाव सकिएपछि कोही फर्केर हेर्दैनन्,उनले भने।
धिमालले थपे, हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, सडक बन्नुपर्छ भन्ने मात्रै हो। तर यहाँ जिम्मेवारी एकले अर्कामाथि थोपर्ने काम मात्रै भएको छ। त्यसैले आज हामीले धान रोपेर हाम्रो पीडा र आक्रोश व्यक्त गरेका हौं।
कार्यक्रममा सहभागी किसान पदम भण्डारी ले सडकको दुर्दशाले स्थानीयको दैनिकी नै प्रभावित बनेको बताए। हामी वर्षौंदेखि यही बाटो प्रयोग गरिरहेका छौं। वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ।
बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। विकासका धेरै कुरा सुन्यौं तर हाम्रो गाउँको अवस्था जस्ताको त्यस्तै छ। आज धान रोप्नु रहर होइन, बाध्यता हो, उनले भावुक हुँदै भने।
त्यस्तै केदार खतिवडा ले जनताको धैर्यको परीक्षा धेरै भइसकेको बताए।
यो सडकको समस्या एक–दुई वर्षको होइन। पटक–पटक आश्वासन पाइयो तर काम भएन। कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झिँदैन। सडक यति बिग्रिएको छ कि खेत र बाटो छुट्याउनै गाह्रो भएको छ। त्यसैले हामीले सडकमै धान रोपेर सम्बन्धित निकायलाई वास्तविकता देखाउन खोजेका हौं,उनले बताए।
कार्यक्रममा सहभागी अर्का किसान भेषराज थापा ले जनप्रतिनिधिहरूले जनताको पीडा बुझ्नुपर्ने बताए। हामी कुनै राजनीतिक उद्देश्यले यहाँ उभिएका होइनौं। हाम्रो माग सामान्य छ हिँड्न मिल्ने सडक चाहियो।
गाउँको विकासका नाममा धेरै भाषण सुन्यौं तर परिणाम देखेनौं। आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रति गरिएको गम्भीर प्रश्न पनि हो। आखिर कहिलेसम्म जनताले यस्तै सास्ती खेप्ने ? उनले प्रश्न गरे।
उनले थपे, सरकार फेरिए, नेतृत्व फेरियो, योजना आए, बजेटका कुरा भए, तर सडकको हालत फेरिएन। त्यसैले स्थानीयको मनमा एउटै भावना छ- ‘जुनै जोगी आए पनि कानै चिरेको।’ अब आश्वासन होइन, काम चाहिएको छ।
स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनीहरूले सम्बन्धित निकायले अब पनि बेवास्ता गरे सडक अवरुद्धदेखि नगरपालिका घेराउसम्मका कार्यक्रम गर्न बाध्य हुने बताएका छन्। स्थानीयको साझा माग छ-सडकमा धान होइन, विकास उम्रियोस्।



