सम्मानीय सभामुख महोदय,
सर्वप्रथम राष्ट्रिय स्वाधीनता लोकतन्त्र, गणतन्त्र, संघीयता शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुती दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्माननीय सभामुख, नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा निलो क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय, यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णय, निर्णायक भूमिका तथा मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ आदि, संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो त्यसैले ती संस्था तथा पात्रहरूलाई एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्मानीय सभामुख महोदय यो जादूमय विजयका लागि बाह्य दृष्टिले कसले निर्णायक भूमिका निर्वाह गर्यो? त्यो त तथ्यले स्पष्ट गर्दछ ।
कुन उद्देश्य प्राप्तिका लागि गैरकनुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्री गिरफ्तार गरियो ? कुन उद्देश्यप्रति राजनीतिक नेतृत्व गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ? कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र, राज्य आतंक मचाइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेसाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल आतंकको सिर्जना गरिँदै छ ?
अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गिोरिदम, गोयबल जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र तथा शान्ति समृद्धिका नायकहरू खुङखार खलनायक र हत्याराको रूपमा स्थापित भए । जसले देश जलायो र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए ती रास्वपाकै पात्रहरूले जादुमय निर्णायक भूमिका खेले ।
यो ऐतिहासिक क्षणमा सब पात्रलाई एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्मानीय सभामुख महोदय, यो चामत्कारिक विजयले के असाधारण प्रश्नहरू जन्माएको छ ? कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतलनिवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो रु कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो र ? कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरू २३, २४ गते तिलस्मी रूपमा प्रकट भए ?
कुन उद्देश्य प्राप्तिका लागि गैरकनुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्री गिरफ्तार गरियो ? कुन उद्देश्यप्रति राजनीतिक नेतृत्व गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ? कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र, राज्य आतंक मचाइँदैछ ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेसाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल आतंकको सिर्जना गरिँदै छ ?
सम्मानीय सभामुख महोदय, निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाफ दिँदै जानेछ । तर, यी प्रश्नहरू र यस्तै यस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकतसहित राज्यलाई सोध्ने छौँ । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउने छौँ ।
सम्माननीय सभामुख महोदय, यो क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनुभएका नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीयज्यूहरूलाई पनि धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।
सम्मानीय सभामुख महोदय अन्त्यमा यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमी कमजोरीहरू सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्छ । त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्छ ।
(नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा व्यक्त गरेको धारणा)



