काठमाडौँ ।माघ ५ गतेको रात काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा असामान्य रूपमा लामो भयो। टिकट कसले पाउँछ भन्ने अन्योल दुई दिनदेखि चलिरहेको थियो। प्रभावशाली नेता, चर्चित अनुहार र सेलिब्रेटी उम्मेदवारका नामहरू सार्वजनिक बहसमा थिए। तर माघ ६ गते बिहान मनोनयन दर्ताको दिन, सबै अड्कलबाजीलाई चिर्दै एउटा नाम अगाडि आयो—रमेश अर्याल।

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अर्याललाई काठमाडौँ–३ को ‘कमान्डर’ का रूपमा चयन गरे। यो निर्णय आकस्मिक थिएन। कांग्रेसभित्र चक्रबहादुर ठकुरीको राजनीतिक विरासतलाई निरन्तरता दिन सक्ने पात्र को भन्ने विषयमा लामो छलफलपछि अर्याल उपयुक्त निष्कर्षमा पुगेको नेताहरू बताउँछन्।

मध्यरातमा आएको फोनले अर्याललाई पनि चकित बनायो। “अब टिकट तपाईंलाई नै हो, तयारी गर्नुस्,” सभापति थापाको सन्देश छोटो थियो, तर त्यसले ठूलो जिम्मेवारी बोकेको थियो। यस क्षेत्रमा धेरै आकांक्षी हुँदा पनि आफू नै छनोट हुने विश्वास अर्याललाई पनि पूर्ण थिएन।

जनतासँगको सम्बन्ध नै शक्ति
रमेश अर्याल राजनीतिमा ‘सिद्धान्त’ भन्दा बढी ‘नतिजा’ मा विश्वास गर्ने नेताका रूपमा परिचित छन्। गोकर्णेश्वर क्षेत्रमा मतदाताहरू यही विशेषताका कारण उनलाई फरक ढंगले हेर्छन्। २०७४ सालको स्थानीय निर्वाचनमा आफ्नो टिमका धेरै सदस्य पराजित हुँदा पनि उनी एकल लोकप्रिय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए।

बौद्ध, तारेभिर, सुन्ताखाना र कागेश्वरीका विभिन्न बस्तीमा उनको पहुँच र लोकप्रियता उस्तै छ। यही जनआधार र निरन्तर सामाजिक सक्रियताले पार्टी नेतृत्वलाई पनि विश्वस्त बनाएको देखिन्छ। अहिले काठमाडौँ–३ का धेरै मतदाताले अर्याललाई “काम गरेर देखाउने नेता” का रूपमा लिन थालेका छन्।

रोचक त के छ भने, चुनावी मौसममा उम्मेदवारले आश्वासन बाँड्ने चलन भए पनि अर्यालको हकमा अवस्था उल्टो देखिन्छ। सुन्दरीजलदेखि गागलभेदीसम्म, उनले भेटेका नागरिकहरूले “एक पटकको मत रुख चिन्हमा तपाईंलाई” दिने वाचा गरिरहेका छन्।
असहज परिस्थितिमा पनि काम निकाल्ने क्षमता विपक्षी दल, कर्मचारीतन्त्र र जटिल राजनीतिक परिस्थितिबीच समन्वय गरेर काम निकाल्न सक्ने क्षमता अर्यालको ठूलो विशेषता मानिन्छ। यही गुणले उनलाई क्षेत्र नम्बर ३ को नेतृत्वका लागि योग्य बनाएको जनताको बुझाइ छ।

ठोस एजेन्डा, व्यवहारिक सोच
काठमाडौँ–३ को दीर्घकालीन समस्या खानेपानी हो। मेलम्ची आयोजनामा मात्र निर्भर नहुने भन्दै अर्यालले परम्परागत मुहान संरक्षण, बोरिङ प्रणालीको वैज्ञानिक व्यवस्थापन र बर्खे पानी संकलनलाई नीतिगत रूपमा अघि बढाउने योजना अघि सारेका छन्। “हाम्रो क्षेत्रको पानी, हाम्रै घरको धारामा” भन्ने उनको नारा व्यवहारिक योजनासँग जोडिएको छ।

युवालाई श्रम बजार र उद्यमशीलतासँग जोड्ने विषयमा पनि उनी नारा भन्दा काममा विश्वास गर्छन्। वडा अध्यक्ष रहँदा उनले सुरु गरेको ‘सीप प्रमाणीकरण तथा रोजगार केन्द्र’ अवधारणा सफल भएको थियो। अहिले स्थानीय स्तरमै सीप विकास गरेर युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने उनको जोड छ।

शिक्षामा देखिएको परिवर्तन
खगेन्द्र नवजीवन विद्यालयमा अर्यालले गरेको सुधार उनको कार्यशैलीको प्रत्यक्ष उदाहरण हो। करिब २०० विद्यार्थी सीमित रहेको विद्यालयमा गुणस्तर सुधारपछि हाल ६७५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयलाई पूर्ण अपाङ्गमैत्री बनाउने पहलले यसलाई देशकै उत्कृष्ट अपाङ्गमैत्री विद्यालयको पहिचान दिलाएको छ। यही अनुभवलाई क्षेत्रका अन्य सामुदायिक विद्यालयमा विस्तार गर्ने अपेक्षा जनताले राखेका छन्।

संकटमा अग्रमोर्चामा
कोभिड–१९ महामारीका बेला करिब १० हजार नागरिकलाई खोपको पहुँच र तीन महिनासम्म असहायलाई भोजनको व्यवस्था गरेर अर्यालले नेतृत्व संकटमा कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए। त्यसैले धेरै मतदाताको बुझाइमा उनी “भोट माग्ने मात्र होइन, भोट दिने नागरिकको जीवन जोगाउने नेता” हुन्।
काठमाडौँ–३ मा यसपटकको चुनाव केवल दलको प्रतिस्पर्धा मात्र होइन, काम र परिणाममा आधारित नेतृत्वको परीक्षा पनि बनेको छ। यही परीक्षामा रमेश अर्याल कांग्रेसको भरोसाको अनुहारका रूपमा अगाडि उभिएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको