सन्दीप पराजुली ।
आत्मस्मरणको निम्तो
यो वर्ष “२०८२” नेवार समुदायकी मेरो साथी निलिशाले हर्षित स्वरमा भनिन्, “यो वर्ष मः पूजा गर्ने हो, आउँछौ?” त्यो वाक्य सुन्नासाथ मेरो मुहारमा अनायासै मुस्कान आयो। बिना कुनै सोचविचार मैले तुरुन्तै जवाफ़ दिए , “अवश्य आउँछु।” किनभने मः पूजा सधैं मलाई आकर्षक र रहस्यमयी लाग्ने परम्परा हो , जहाँ मानिसले अरूलाई होइन, आफ्नै आत्मालाई नमन गर्छ।
नेवारी समुदायको मौलिक, दार्शनिक र आध्यात्मिक गहिराइ बोकेको यो पर्व आत्मपरिचय र आत्मप्रेमको अद्भुत प्रतीक हो। यस दिन व्यक्ति आफूभित्रको ‘स्व’ सँग संवाद गर्छ, जीवनका आरोह अवरोहलाई स्वीकार्दै, आफ्नो अस्तित्वलाई सम्मान दिन सिक्छ। आत्मस्वीकृति र कृतज्ञताको यस अभ्यासले मानिसलाई शान्त, दृढ र सचेत बन्न प्रेरित गर्छ , मानौं मः पूजा केवल एउटा धार्मिक परम्परा होइन, आत्मबोधको सुन्दर यात्रा हो।

आत्मपूजाको अद्भुत परम्परा
नेपालको सांस्कृतिक विविधतामा मः पूजाको स्थान विशेष छ। यो दीपावली (स्वन्ती) पर्वको चौथो दिन मनाइन्छ, जसलाई “आत्मपूजा” वा “जीवनको सम्मान” पनि भनिन्छ। यस दिन नेवार समुदायका सदस्यहरूले आफ्नै आत्माको प्रतीकका रूपमा मण्डप तयार गर्छन्, दीप बाल्छन्, र आफैंलाई लावा र फूल अर्पण गर्छन्।
यो संस्कारले मानिसलाई सम्झाउँछ कि जीवन अमूल्य छ, र आफैंभित्र पनि दिव्यता बस्छ। अन्य पूजाजस्तै यो कुनै देवी देवतालाई समर्पित छैन, बरु आफ्नै चेतना र अस्तित्वलाई स्मरण गर्ने क्षण हो।
बाल्यस्मृतिदेखि पुनर्स्मरणसम्म
मलाई बाल्यकालको एउटा झझल्को अझै ताजा छ की परासीमा प्रकाश काकाको घरमा देखेको मः पूजाको दृश्य। दीपको उज्यालो, रङ्गीन मण्डप , धूपको सुगन्ध र संगीतले भरिएको त्यो वातावरण। तर त्यो बेला म सानो थिएँ, पूजाको अर्थ बुझिनँ। वर्षौंपछि निलिशाको प्रस्तावले त्यो स्मृति पुनः जीवित गरायो।
यो केवल धार्मिक निम्तो होइन, संस्कृतिसँगको पुनर्संलग्नता थियो,आफूलाई पुनः सम्झने र आफ्नो अस्तित्वलाई पुनः महसुस गर्ने अवसर।
संयुक्त पूजाको तयारी
हामीहरू निलिशाको, मेरो, रोजिनाको र कल्पना दीको चार परिवार मिलेर संयुक्त रूपमा पूजा गर्ने निर्णयमा पुग्यौं। तयारीको बेला सबैमा आत्मीयता, उत्साह र सामूहिक भावना झल्कन्थ्यो।
कल्पना दीकी छोरी प्रशंसा, जसलाई नेवारी परम्पराको राम्रो ज्ञान रहेछ , पूजाको अगुवाइ गर्ने भइन्। उनले प्रत्येक विधिको अर्थ बुझाउँदै लगिन् जस्तै मण्डप आत्माको प्रतीक हो, दीप चेतनाको प्रकाश, र टीका जीवनशक्तिको संकेत।

पूजाको दिव्यता
२०८२ सालको मः पूजाको साझ निलिशाको घर साँच्चै उत्सवमय थियो। घर, मण्डपका रङ्गीन आकृतिहरू, परम्परागत नेवारी संस्कृति र उत्साहपूर्ण अनुहार।
पूजाको क्रममा हामीले आत्मप्रति धन्यवाद व्यक्त गर्यौं, जीवनका वरदानहरूको सम्झना गर्यौं, र आत्मविकासको संकल्प लियौ ।
मः पूजाको सार यही हो की जब मानिस आफूभित्रको दिव्यतासँग जोडिन्छ, उसले समाज र प्रकृतिसँगको सम्बन्ध पनि सुदृढ गर्छ।
यो पर्व आत्मसम्मान, सहअस्तित्व र सन्तुलनको सन्देश हो। आजको व्यस्त जीवनमा जब मानिसले आफूलाई बिर्सँदै गएको छ, मः पूजाले भन्छ, पहिले आत्मालाई सम्झ, अनि मात्र संसारलाई प्रेम गर।
पारिवारिक सौहार्द र साझा अनुभूति
पूजापछि सबै चारै परिवार संगै बसेर प्रेमले पकाइएका परिकारहरूको स्वाद लियौं। कल्पना दीको हातको स्वादिष्ट परिकारहरू , रोजिनाको हातले बनाएको मटनको सुगन्ध, र निलिशाको घरको आत्मीय आतिथ्यले त्यो साँझलाई अविस्मरणीय बनायो। दीपको मृदु उज्यालो र मण्डपको रंगीनआकृति ले घरभरि एक अद्भुत पवित्रता फैलिएको थियो।
बच्चाहरूले उत्सुकतापूर्वक मण्डपको अर्थ बुझ्दै आफ्ना साना हातहरूले संस्कृतिको बीज रोपिरहेका थिए। उनीहरूको निष्कपट हाँसो र उमङ्गले त्यो वातावरणलाई अझ जीवित बनायो। ती क्षणहरूमा लाग्थ्यो की समय थमिएको छ, र परिवारबीचको सम्बन्ध श्रद्धा, प्रेम र संस्कृतिको डोरीले अझ मजबुत रूपमा गाँसिएको छ।
दर्शन, धर्म र आत्मचेतना
मः पूजाको महत्त्व केवल संस्कारमा सीमित छैन। यो हाम्रो अस्तित्वको दर्शन हो।
नेवारी समाजले हजारौं वर्षदेखि पालन गर्दै आएको यो परम्पराले आत्मसम्मान, जीवनप्रतिको आस्था र आत्मशुद्धिको सन्देश दिन्छ।
यसले “धर्म” लाई बाह्य प्रदर्शन होइन, आत्मिक साधनाका रूपमा प्रस्तुत गर्छ। प्रत्येक प्राणीभित्र रहेको चेतनाको आदर गर्नु नै यसको मूल दर्शन हो।
विविधतामा एकता
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यस्ता पर्वहरूले फरक फरक समुदायबीच समझदारी र आत्मीयता बढाउँछन्।
जब हामी एकअर्काको संस्कृतिमा सहभागी हुन्छौं, हामी केवल परम्पराको सम्मान मात्र गर्दैनौं, हाम्रो सोच र दृष्टि पनि फराकिलो बनाउँछौं।
यही अभ्यासले “चार जात, छत्तीस बर्राको फूलबारी” भन्ने हाम्रो पहिचानलाई अझ गहिरो अर्थ दिन्छ।
निष्कर्ष : आत्मस्मरणको शान्त यात्रा
मः पूजाको अनुभवले मलाई आत्मबोधको गहिरो अर्थ सम्झायो। हामी प्रायः जीवनका दौडधूपमा अरूका लागि बाँच्ने प्रयासमा आफ्नै आत्मालाई बिर्सन्छौं। तर, यस पूजाले सिकाउँछ की आत्मसम्मान, आत्मप्रेम र आत्मस्वीकृति नै साँचो आध्यात्मिकता हो। निलिशाको निम्तो केवल मित्रताको संकेत थिएन; त्यो त मेरो आफ्नै ‘स्व’ सँगको भेट थियो। मण्डपमा बलेका प्रत्येक दीपले चेतनाको उज्यालो जगायो, र फूलले स्मरण गरायो की सुन्दरता हाम्रो भित्री मनमै फुल्छ।
त्यो साँझ केवल एक धार्मिक विधि थिएन, त्यो आत्मा र संस्कृतिको मिलन थियो। हामी चारै परिवारले एकअर्कासँग बाँडेका हाँसो, स्वाद र सम्झनाले मः पूजाको सारलाई व्यवहारमा उतारेका थियौं,। बालबालिकाले संस्कृतिको बीज रोपे, र हामी आत्मसंवादको फूल फुलायौ ।
आजको व्यस्त र डिजिटल युगमा जब मानिस आफ्नै अस्तित्वबाट टाढिँदै गएको छ र मः पूजाले भन्छ “आफूलाई सम्झ, किनभने आत्माको पूजा नगरी संसारको अर्थ खोज्न सकिँदैन।”
नेवारी परम्पराको यो आत्मस्मरण पर्व केवल संस्कृति होइन, एक दर्पण हो जसमा हामी आफ्नै अनुहार, आफ्नै चेतना र आफ्नै मूल्य देख्न सक्छौं।
त्यस रात म घर फर्कँदा मनमा शान्त लहर चलेको थियो। दीपको उज्यालो अझै आँखा अगाडि झल्मलाइरहेको थियो मानौं आत्माले भनीरहेको थियो, “धन्य छु, तिमीले मलाई सम्झ्यौ।”
मः पूजा, अन्ततः, आत्माको त्यो न्यानो निम्तो हो”आफूलाई स्वी

