काठमाडौं – नेपाल मानवअधिकार संगठनले आज हुने रावावादी र गणतन्त्रवादी शक्तिको शक्ति प्रदर्शन शान्तिपूर्ण बनाउन अपल गरेको छ । राजसंस्था पुनर्स्थापना गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका राजवादी समूह तथा गणतन्त्रको पक्षमा रहेको समाजवादी मोर्चाले आज छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्दैछन् ।
संस्थाका अध्यक्ष अधिवक्ता ईन्द्र प्रसाद अर्यालले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै राजतन्त्र समर्थक र गणतन्त्र समर्थक दुबै पक्षलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपिल गरेको हो ।
अधिवक्ता अर्यालले जारी गरेको वक्तव्यमा ‘राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल एवं संगठन र गणतन्त्र समर्थक समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दलहरुले चैत १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल मानव अधिकार संगठनको ध्यानाकर्षण भएको’ जनाएको छ ।
प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थितिको सिर्जना भएमा त्यसबाट उत्पन्न हुने परिस्थितिले शान्तिसुरक्षामा गम्भीर चुनौती थप्न सक्ने स्थिति बन्न सक्ने भन्दै आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन् नगरी देशको संविधान, अन्तर्राष्ट्रिय कानून, मानव अधिकारका अन्तर्राष्ट्रिय मान्यता, सन्धि, सम्झौताहरुको पालना गर्न र प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन यो संगठन प्रदर्शनरत पक्षहरुलाई र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन, प्रदर्शनमा अनावश्यक बल प्रयोग नगरी मानव अधिकारप्रति संवेदनशील हुन, सम्मान गर्न नेपाल सरकार, सुरक्षा निकाय, राजनीतिक दलहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेको छ।



