काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायाँकन सुरु भएको छ। गत बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो। काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको यस चलचित्र लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने भनिएको छ।
निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने यस चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने छ । यसैगरी माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ। ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन्।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न स्थानमा गरिनेछ। सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन्।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ।‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ। चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्माण पक्षले जनाएको छ।
यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन्।



