काठमाडौं : सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सुशासन र समावेशीतालाई सुनिश्चित गर्न कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
आफूहरु न्यायालय सुधारको बाटोमा हिँडिरहेको पनि उनले बताइन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रुपमा उठाउने प्रयास गरिरहेको भन्दै उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत बताइन् ।
उनले भनिन्, ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौं । न्यायको खोजी गर्न आउनेहरूको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभूति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौं । कानुन जवसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्ट नै हुन्छ ।’
उनले भनिन्, ‘आज न्यायाधीशहरू केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरू त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन् । यो पनि हामी सन्देश दिन चाहन्छौँ । नयाँ पुस्ताका कानुन व्यवसायीका लागि पनि कतिपय न्यायाधीशहरू प्रेरणा बनेका होलान् । पीडितको आवाजको न्यायको मूलधारमा ल्याएर न्यायिक नेतृत्वले अहिलेको नेतृत्वले पनि हाम्रो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउन खोज्नु भएको छ ।’
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाईं सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन्। प्रधान केही समय पछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्दैछिन् ।
त्यस्तै, महायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताइन् । उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताइन् । महिलाहरूले पारिवारिक र पेसागत जीवनको सन्तुलन मिलाउँदै ‘ग्लास सिलिङ’ तोडेर अघि बढेको उनको भनाइ छ ।



