रामेछाप । सिन्धुलीको कमलामाई प्रतिको बढ्दो आस्थाका कारण मन्दीरमा आउने भक्तजनहरूको सङ्ख्या बढ्दै गएको छ।

सिन्धुलीको कमलामाई नगरपालिकामा अवस्थित कमलामाईको दर्शन गर्न नेपालका विभिन्न जिल्लाहरूका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन्। यसले गर्दा कमला मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्न थालेको छ।

कुनै काम पुरा होस् भनि भाकल गर्ने र त्यो काम पुरा भएपछि कमलामाईलाई पाठी, परेवा लगायत पूजा गर्न भक्तजनहरू आउने गरेका मन्दिरमा दर्शन गर्न आएका रामेछापका दामोदर घिमिरेले बताए । ‘ हामीलाई विश्वास छ, मागेको कुरा पुरा हुने गरेको छ’, उनले भने।

कमलामाईलाई कल्याणकारी देवी, दयालु, सहयोगी र आफ्ना सन्तानको रक्षकका रूपमा पूजा गरिन्छ । माघ महिनामा कमलामाईको विशेष पूजा हुने गर्दछ। हरेक वर्ष माघेसंक्रान्तिमा कमला मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ।

कमलामाई मन्दिर रहेको ठाउँलाई माईस्थान भनिन्छ। माईस्थान मन्दिर सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढी हुँदै बग्ने गौमती नदी र कमला नदीको सङ्गममा रहेको छ। यो मन्दिरलाई निकै पुरानो मन्दिर मानिन्छ। यसको उत्पत्ति कहिले भयो भन्ने यकिन इतिहास छैन।

मकवानी राज्य अन्तर्गत रहेको समयमा यसमा सेन राजाहरू, इतिहासको विभिन्न कालखण्डमा यसलाई भ्रमण गर्ने प्रमुख व्यक्तित्वहरू र राज्य सञ्चालक प्रशासकहरूले मन्दिरमा चढाएका वस्तुहरूबाट यो मन्दिर पुरानो हो भन्न अनुमान गरिन्छ। १८८६ सालको माघमा काजी भीमसेन थापाले आफ्नी कान्छी पत्नी भक्त कुमारीसँग आएर चढाएको चाँदीको मुकुट मन्दिरमा छ।

मकवानी राजा हरईन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरू चढाइएका छन्। एउटा पानसमा १६९२ साल माघ बदी ३ रोज शुभम् प्रस्ट अक्षरमा लेखिएको छ। सो पानस दलदीपबहादुर पाण्डेले चढाएको अभिलेख छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको