काठमाडौँ । सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानी काठमाडौंमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ।
२८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ।
बिजय लामा एण्ड द व्याण्डको प्रस्तुती रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका एक दर्जन बढी गीतहरु गाउने छन्।
ल्होसार मूल समारोह समितिको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको व्यबस्थापक नमस्ते साउण्ड रहेको छ। यसैबिच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलिपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतीका लागि दुबई उड्नेछन्।
उनले फेब्रअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बर दुबईमा एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । जसको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए।
लामाले दुबईमा पनि आफ्ना दर्जन बढी गीतहरु गाउनेछन् । पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिब दुःखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम गरिरहेका छन्।



