सन्दिप पराजुली । 

ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्न चाहने यात्रीहरूलाई हाम्रो यात्रा अनुभवले प्रेरणा र सहयात्राका लागि मार्गदर्शन प्रदान गरोस्।
साथीहरू एकै समयमा समय जुराएर सँगै यात्रा गर्न पाउनु भगवानको कृपाले मात्र सम्भव हुने रहेछ ।

हामी चारजना साथी—रोजिना, निलिशा, शिप्रा, र मेरो पनि लामो प्रयासपछि समय मिल्यो। भर्खर दशैं तिहार सकिएको थियो, बाँकी कामको चटारो थियो नै, तर चुनौतीको बीचमा पनि हामीले समय जुरायौं। जाडो मौसमको सुरूवात हुने भएकोले ढिला गर्दा कठिन हुने महसुस गरी केही दबाबमै योजना बनायौं।

पाथीभरा माताको दर्शन गर्ने यो सौभाग्यको यात्रा विशेष रह्यो। ती सुन्दर क्षणहरूको सम्झनामा मैले एक छोटो संस्मरण लेखेको छु।

पहिलो दिन
(९ नोभेम्बर २०२४)


हामी बिहान ४ बजे काठमाण्डौ कोटेश्वरमा जम्मा भै, बीपी राजमार्ग हुँदै यात्रा सुरु गर्यौं। दुर्भाग्यवश, राजमार्ग खुरकोटमा एउटा मोड छुटायौं र ६० किलोमिटर पर ओखलढुंगा जिल्लामा पुग्यौं। त्यहाँबाट हामीले घुर्मी वाट कटारी जान वैकल्पिक बाटो खोज्यौं, त्यो बाटो निकै उकालो, अव्यवस्थित, र यात्रा गर्न तनावपूर्ण थियो। झन् गाह्रो कुरा त के भयो भने, हाम्रो इभीको ब्याट्री लगभग सकिन लागेको थियो, र घुर्मी र कटारीको बीचमा चार्जिङ स्टेसन थिएन। धेरै कठिनाई र तनाव पछि अन्ततः हामी कटारी पुग्यौं र कारलाई ८०५ सम्म चार्ज गर्यौं। पूरा दिनभरि हाम्रो ऊर्जा कायम राख्न पर्याप्त घरको खाना थियो। रोजिनाले स्वादिष्ट खसीको परिकार र निलिशाले बनाएको छोएला निकै स्वादिलो थियो, वास्तवमा, म कम पिरो खाना खाने बानी गरेको छु, त्यसैले दुबै साथीहरूले मेरो अनुसारको पटलकमा परिकार तयार गरेका थिय।विशेष धन्यवाद निलीशाको साथी शोभालाई, जसले हामीलाई ऊर्जा दिने, क्यालोरीले भरिएको, स्वादिलो लड्डु पठाएकी थिइन !

यात्रा जारी राख्दै, हामी चतरा,इटहरी, दमक, बिर्तामोड, र चाराली हुँदै गयौं। त्यसपछि कन्याम बस्ने निर्णय गर्यौं। तर, राति करिब ९:३० बजे, कन्याम नजिकै अर्को चार्जिङ समस्या आयो,हामी चार्जिङको समस्याले चिन्तित भएर गाडी साइड लगाएर बसेका मात्र थियौं। एकजना भलाद्मी आउनु भयो र हामीलाई मद्दत गर्नु भयो। यो भगवानले मद्दतका लागि दूत पठाएको अनुभव भइरहेको थियो। हिन्दी चलचित्र ‘ओ माई गड’ को अक्षय कुमारको याद आयो।हामीलाई घरको चार्जर प्रयोग गर्नुपर्‍यो। यो चार्जर हाम्रो लागि जीवनरक्षक सावित भयो। सूर्य बुढाथोकी भाईले हामीलाई कार छोडिएको स्थानबाट करिब ४ किलोमिटर टाढा रिसोर्टसम्म लैजान सहयोग गर्नुभयो। राति १०:३० बजे रिसोर्टमा पुग्दा हाम्रो पहिलो दिनको यात्राको अन्त्य भयो।

दोस्रो दिन
भोलिपल्ट बिहान हामी चाँडै उठ्यौं र प्रकृतिको अद्भुत सौन्दर्यले मोहित भयौं। सूर्योदयको सुनौलो किरणले कञ्चनजंघा हिमालमा प्रतिबिम्बित हुँदा जादुमय देखिन्थ्यो। हरियो डाँडाहरू हरियो पहिरन लगाएर , शिरमा हीऊको सेतो मुकुटले सजिएकी सुंदरी जस्तो। त्यो मनमोहक दृश्यमा डुबेर केही समय बिताएपछि हामीले बिहानको खाजाको तयारी गर्यौं। तर, खाजाको अगाडि म सूर्य भाइसँग कार लिन गए, अनि त्यसलाई होटलमा ल्याएर चार्ज गर्न राख्यौं।

हामी बिहानको समय कन्याममा बितायौं, जसलाई प्रायः पूर्व नेपालको रानी भनिन्छ। चिया बगानको बीचमा हिँड्दै हामीले धेरै फोटोहरू खिच्यौं र केही रमाइला टिकटकहरू पनि बनायौं। खानाको लागि, हामी हरकट्टेमा रहेको प्रसिद्ध “रेखा दिदीको होटल” गयौं र त्यहाँ नेपाली दालभात र लोकल कुखुराको स्वादिलो खाना खायौं।

दिउँसो १ बजे हामी इलामतर्फ लाग्यौं। कसैले हिल क्षेत्रमा इलेक्ट्रिक गाडी नलैजान सुझाव दिए पनि हामी अघि बढ्ने निर्णय गर्यौं। बाटोमा फिक्कलमा रोकियौं, जुन पशुपतिनगर दार्जिलिङ र ताप्लेजुङ छूटींने सुन्दर बजार हो। दुई घण्टाको रमणीय यात्रापछि हामी इलाम पुग्यौं। त्यहाँ कार चार्ज गरेर, शहर घुम्यौं र कफी र मस्मस्को मज्जा लियौं। त्यसपछि हामी फिदिमतर्फ लाग्यौं र राति करिब ९ बजे त्यहाँ पुग्यौं।

तेस्रो दिन
नास्तापछि हामी बिहान ९ बजे फिदीमबाट यात्रा सुरु गर्‍यौं। झन्डै १०० किलोमिटरको साँघुरो र रमणीय सडकमा करिब २ घण्टा ३० मिनेटमा हामी ताप्लेजुङ पुग्यौं। ताप्लेजुङ प्रवेश गरेपछि, हामीले कावेरी नदीको नजिकै रहेको सानो पाथीभरा मन्दिरमा रोकियौं। शिप्राले यात्रा विचमा आफ्नो अफीस को औपचारिक कामका लागि पनि सदूपयोग गर्ने योजना बनाएकी थिईन। उनी केही डाक्टरहरूसँग भेट्न चाहन्थिन र मन्दिरबाट फर्किएपछि बैठकको तालिका मिलाउन चाहीन। त्यसैले हामी अस्पताल गयौं। अर्को कारण भनेको त्यहाँ हाम्रो गाडीका लागि सुरक्षित पार्किङ छ कि छैन भनेर हेर्नु थियो, तर सुरक्षित पार्किङ फेला परेन। डाक्टरले गाडी होटलमा राख्न सुझाव दिनुभयो, जसलाई सुरक्षित हुने बताउनुभयो। माउन्टेन होटल नामक होटल सिफारिस गर्नुभयो।

दिउँसो १२ बजेतिर हामी टाप्लेजुङको होटल माउन्टेनमा पुग्यौं, जहाँ हामीले भोलिपल्टको पाथीभरा पूजाका लागि शाकाहारी खाना खायौं।
हाम्रो गाडी खराब सडकमा यात्रा गर्न नसक्ने भएकाले हामीले जिपको व्यवस्था गर्‍यौं। काफ्लेपटिसम्मको जिप यात्रा निकै हल्लायुक्त थियो। पछिल्लो सिटमा बस्दा बारम्बार मेरो टाउको छतमा ठोक्किन्थ्यो। ९ किलोमिटरको दूरी पार गर्न झन्डै एक घण्टा भन्दा बढी लाग्यो। काफ्लेपटिबाट, हामीले पाथीभरा पुग्नका लागि ट्रेक सुरु गर्‍यौं।

राति ८ बजेतिर हामी ३,२०० मिटरको उचाइमा रहेको ठूलो फेदीमा पुग्यौं। त्यहाँको आवास सीमित थियो, र हामीलाई तीन साना ओछ्यान भएको एउटा साँघुरो कोठा मिल्यो, जुन चारजनाका लागि थियो। त्यहाँ बस्दा पिंजडाभित्र भएको जस्तो महसुस भयो।
सरल खाना खाएर हामी केही घण्टा विश्राम गर्‍यौं र बिहान २ बजे ट्रेकको अर्को चरण सुरु गर्‍यौं।

चौथो दिन,
रातको २ बजे, हामी दृढता र श्रद्धाले भरिएको मन लिएर मातापाथीभरा तर्फको यात्रा सुरु गर्‍यौं। हामी चारजना अँध्यारोको ओढारमा, मोबाइलको मधुरो प्रकाशको सहारामा, एकैसाथ अघि बढ्यौं। तर, बाटो झन् कठिन र उकालो हुँदै गएपछि, शिप्राको गति सुस्त भयो, जसले गर्दा म आफ्नो लय कायम गर्न कठिनाइमा परेँ। यसबीच, रोजिना र निलिषा अगाडि बढे र हामीलाई पछाडि छोडे।


उकालो यात्रा धेरै नै चुनौतीपूर्ण थियो। शिप्राले केही मिनेटको अन्तरालमा बारम्बार विश्राम गर्नुपर्ने भयो, किनकि उनी लामो समयसम्म हिँड्न सकिनन्। मैले उनीलाई कसरी माथिसम्म पुर्‍याउने भन्ने सोचेर चिन्ता गरिरहेको थिएँ, तर उनलाई हौसला दिइरहें, प्रोत्साहनका शब्दहरू भनिरहें र उनको बलबुतामा विश्वास दिलाएँ। मलाई निलिषाको घुँडाको समस्याको बारेमा पनि चिन्ता थियो, तर उच्च स्थानमा पुगेपछि शिप्राले असजिलो महसुस गर्न थालिन्, जुन मैले अपेक्षा गरेको थिइनँ। किनभने उनले पहिले नै कश्मीरको गुलमर्गजस्तो ५,४०० मिटरको उचाइमा पनि यात्रा गरिसकेकी थिइन्।

यी सबै चुनौतीहरूको बावजुद, माता रानीको कृपाले हामी अन्ततः शिखरमा पुग्न सफल भयौं, रोजिना र निलिषाभन्दा करिब ३० मिनेट ढिलो। त्यो समय बिहानको ६ बजेको थियो, कठ्यांग्रिने चिसोले छालालाई काटिरहेको थियो, तर त्यहाँको दृश्य अवर्णनीय थियो। माता रानीको दिव्य अनुहार यति जीवन्त देखिन्थ्यो, मानौं उहाँ अहिले बोल्नुहुनेछ। त्यहाँको शक्तिशाली उपस्थितिले हामीले भोगेका सबै कठिनाइहरू मेटाइदियो। त्यो पवित्र क्षणमा, सबै दुःखहरू हराए, र मनमा केवल कृतज्ञता र आफू धन्य भएको अनुभूति मात्र बाँकी रह्यो।
पूजा सम्पन्न गरेपछि, हामीले अनगिन्ती तस्वीर र भिडियो खिच्यौं र हाम्रो गन्तव्यतर्फ झर्न तयार भयौं। ओरालोमा, शिप्रा र निलिषाको गति निकै सुस्त भयो। निलिषा दुईवटा लठ्ठीको सहारामा आफ्नो सन्तुलन बनाउँदै थिइन्। उनीहरूको अनौठो चाललाई लिएर हामीले मजाक गर्दै “लेडी स्वान वाक” भनेर नाम दिएका थियौं—सबै मजाकमै। तर ओरालो यात्रा उकालो जस्तो कठिन भने थिएन। झन्डै दुई घण्टा पचास मिनेटपछि हामी थुलो फेदीमा पुग्यौं, जहाँ चिया र बिस्कुट खाएर हामीले आफ्नो यात्रा जारी राख्यौं।
त्यसपछि, हामी“दार्जिलिङ” नामको साँघुरो होटलबाट चेकआउट गर्‍यौं र यात्रा अगाडि बढायौं। यात्रा भरि, शिप्रा र निलिषाको चाल नै सबैभन्दा रमाइलो दृश्य रह्यो। बाटोमा धेरै फोटोहरू खिच्दै हामी लगभग डेढ घण्टामा काफ्लेपाटी पुग्यौं। त्यहाँ हामीले कफी र बिस्कुट खायौं र एड्भेन्चर जिप लिएर तप्लेजुङको होटल फर्कियौं।

होटलमा पुगेर निकै स्वादिष्ट खाना खायौं, जुन थकाइ मेट्न निकै उपयुक्त लाग्यो। केही समय विश्राम गरेपछि, ऊर्जा पुनः प्राप्त गर्‍यौं र तप्लेजुङ बजार घुम्न गयौं। त्यहाँ, अञ्जुले सिफारिस गरेको “फेटेको कफी” खोज्यौं, तर त्यो हाम्रो अपेक्षा अनुसार स्वादिष्ट भने लागेन। बजारमा घुम्दै, हामीले केही खाजा र पेय पदार्थ किन्यौं शिप्राको जन्मदिन मनाउन। संयोगवश, त्यो दिन शिप्राको जन्मदिन परेको थियो। साँझमा, सानो जन्मदिनको उत्सव मनायौं, हाँसो र रमाइलोले भरिएको त्यो क्षण दिनलाई अझ विशेष बनायो। हिन्दी गीत ुजहाँ चार यार मिल जाएु बजायर रमाईलो गर्यो,यो साँच्चै नै बिर्सन नसकिने साँझ बन्यो। यो क्षणलाई यति विशेष र अनौठो बनाइदिएकामा प्रिय साथीहरू, धेरै धेरै धन्यवाद।

पाँचौं दिन

यो हाम्रो फर्कने दिन थियो, त्यसैले हामी बिहानै तयार भयौं। हाम्रो उत्साह विस्तारै कम हुँदै गयो किनकि हामीले उही बाटो फर्कनु पर्ने थियो र शिप्रालाई ताप्लेजुङमा छोड्दै थियौं। उनले त्यहाँ चिकित्सकहरूसँग आधिकारिक भेटघाट गर्ने योजना बनाइसकेकी थिइन् र हवाई मार्गबाट काठमाडौं फर्कने सोच बनाएकी थिइन्। ताप्लेजुङबाट साप्ताहिक दुई वटा मात्र उडान हुने भएकाले, उनले भद्रपुर हुँदै काठमाडौंको उडान लिनु पर्ने बाध्यता थियो।

हामी बिहान ७ बजे होटलबाट निस्कियौं र यात्रा सुरु गर्यौं। पहिलो गन्तव्य फिदिम पुग्यौं। त्यहाँ सहरको अन्वेषण गर्‍यौं, स्थानीय खाजा खायौं, र कफीको मज्जा लियौं। त्यसपछि हाम्रो यात्रा इलामतर्फ अगाडि बढायौं। इलाम पुगेपछि कार चार्ज गर्‍यौं, हाम्रो कार चार्जिङ स्टेसन नजिकैको स्थानमा स्वादिष्ट मस्मस् खायौं ,सहरको भ्रमण गर्‍यौं, र प्रसिद्ध स्थानीय चिया किन्यौं।

इलामबाट हाम्रो यात्रा पुनः सुरु भयो र बेलुकी करिब ६ बजे बिर्तामोड पुग्यौं। होटलमा चेकइन गरेपछि हामीले त्यहाँको स्थानीय खाना अन्वेषण गर्ने निर्णय गर्यौं। त्यहाँको मटन सेकुवाको स्वाद निकै अद्भुत थियो

छैठौ दिन

हामीलाई त्यो दिन के गर्ने भन्ने कुरामा अलमल भयो — भारतको सिलिगुडी घुम्ने कि सप्तरीको साँखडा देवी मन्दिरमा दर्शन गर्न जाने। मैले त्यो मन्दिर धेरै वर्षदेखि जान चाहिरहेको थिएँ, र मेरो साथी अजीतले पनि धेरै समयदेखि बोलाइरहेका थिए। साथीहरूसँग सल्लाह गरेर अन्ततः साँखडा देवी मन्दिर जान निर्णय गर्यौं।

होटलमा नास्ता गरेपछि मैले गिरी बन्धु चिया बगानका मालिक छत्र गिरी दाइलाई फोन गरेँ। उहाँले आफ्नो घरमा भेट्न बोलाउनु भएको थियो। उहाँले हामीलाई बाटो देखाउन ड्राइभर पठाउनुभयो। उहाँको सुन्दर घर, जुन ठूलो चिया बगानको बीचमा थियो, त्यहाँ हामीले चियाको स्वाद लियौं र रमाइलो वार्तालाप गर्यौं।

त्यसपछि, हामीले बिर्तामोडबाट करिब १० किलोमिटर टाढा शोभाको गाई फार्ममा जाने योजना बनायौं। त्यहाँ पुग्दा उसको श्रीमान्, राजन दाइले हाम्रो निकै न्यानो स्वागत गर्नुभयो। संयोगवश, मैले उहाँलाई चिनेँ — उहाँ मेरो कलेजको साथीको काका हुनुहुँदो रहेछ। मैले ३० वर्षदेखि भेटेका थिइन। उहाँको फार्म निकै व्यवस्थित र सफल थियो। उहाँले फार्मका आफ्नै उत्पादनहरू उपहार दिनुभयो।

त्यस रमाइलो भेटघाटपछि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं। लामो यात्रा गरेपछि हामी सप्तरी नजिक पुग्यौं। मेरो साथी अजीतले पटक(पटक फोन गरेर हामी कहाँ पुग्यौं भनेर सोधिरहेका थिए, किनकि उहाँ हामीलाई भेट्न आतुर हुनुहुन्थ्यो। हामी साँझ ६ बजे सप्तरी पुग्यौं। उहाँ मुख्य सडकमा हामीलाई कुरेर बस्नु भएको थियो, जुन साँखडा देवी मन्दिरतर्फ जान्छ। त्यो मन्दिर राजविराजबाट करिब १४ किलोमिटर टाढा पर्छ।
साँझमा हामीले मन्दिरमा दर्शन गर्यौं। त्यसपछि अजीतले राजविराजमै बस्न जोड दिनुभयो। तर, हाम्रो योजना बार्दिबासमै बस्ने भएकाले हामीले उहाँलाई सम्झायौं। उहाँले केही खानका लागि बोलाउनुभयो, र हामी उहाँको स्थानीय रेस्टुरेन्टमा गयौं। त्यहाँको विभिन्न प्रकारका परिकारहरू हामी सबैलाई निकै मन पर्‍यो। विशेष गरी, तला माछाको स्वाद कहिल्यै बिर्सन नसकिने खालको थियो। हामीले सप्तरीको विशेष पान पनि खायौं, जुन निकै मिठो थियो।

ती सबै रमाइला पलहरूपछि, हामी फेरि बार्दिबासतर्फ लाग्यौं र राति करिब ११ बजे बार्दिबास पुग्यौं ।

दिन ७

हाम्रो यात्रा अन्तिम चरणमा पुग्दै गर्दा हामी गन्तव्यमा छिट्टै पुग्न हतारमा थियौं — तर यो यात्रा धेरै छोटो महसुस भयो। हाँसो, दैनिकका परिचित नियमहरू, गहन कुराकानीहरू, र एकअर्काको साथमा बिताएको मिठो समयले हाम्रो यात्रा निकै रमाइलो बनायो। अब भोलीदेखि त्यो साथ, त्यो वातावरण, र त्यो सम्बन्ध मिस हुनेछ भन्ने कुरा पत्याउन गाह्रो भइरहेको छ। मैले अझै पनि सम्झिरहेको छु जब निलिशाले भनेकी थिइन्, “सन्दीपको बकवास हावा गफ मिस हुने भयो,” यो साधारण कुरा नै सही, तर ती क्षणहरू हामीभित्र गहिरोसँग बसिसकेको अनुभूति गराउँछ।

यी मीठा सम्झनाहरू हृदयमा लिएर हामीले बार्दिबासको होटलबाट चेकआउट गर्‍यौं र काठमाडौँतर्फ हाम्रो यात्रा सुरु गर्‍यौं। बाटोमा हामीले यो सुन्दर यात्राका अन्तिम क्षणहरूलाई महसुस गर्‍यौं र साँझ चार बजेतिर काठमाडौँ आइपुग्यौं।

केही कुराहरू लेख्न अझै बाँकी छ, तर यस यात्राको वास्तविक भावनालाई शब्दमा व्यक्त गर्न सम्भव छैन। यी सम्झनाहरू सधैं हामीसँग रहनेछन् र जीवन कहिलेकाहीं गाह्रो लाग्दा हाम्रो मनलाई शान्ति दिनेछन्। यी क्षणहरूले हामीलाई एकअर्काको साथमा बिताएको खुसी र यो यात्राको जादू सम्झाइरहनेछन्।

यो यात्रा केवल हाम्रो लागि धार्मिक यात्रा मात्र नभएर, साथीहरूबीचको सहकार्य, कठिनाइहरूको सामना र असाधारण क्षणहरूको उत्सव पनि थियो। माता रानीको आशीर्वादले भरिएको यो अनुभव जीवनभर स्मरणीय रहनेछ। जय माता पाथीभरा !

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको