पोखरा । पर्यटकीय नगरी पोखरामा आज(मंगलबार)बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ।
बेलुन नेपाल प्रालिले पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ आयोजना गरेको महोत्सव नौं दिनसम्म चल्नेछ । महोत्सवको पहिलो संस्करणमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ।
बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार महोत्सवमा उद्दघाटनमा १७ देशका २२ जना पाइलटहरुले १५ वटा बेलुनहरु उडाइएका छन्। उनले भने, ‘बेलुन महोत्सव नेपालमा पहिलोपटक आयोजना भएको हो। १७ देशका २२ जना पाइलटहरुले १५ वटा बेलुनहरु उडाइएका छन्,’ उनले भने, ‘महोत्सव आयोजना गर्नुको उद्देश्य भनेको नेपालमा पनि उत्कृष्ट हट एयर बेलुन छ है भन्नु पनि हो । किनभने, कुनैपनि देशमा तालतलैया, हिमाल पहाडलगायतको दृश्य हेर्दै बेलुन सयर गर्न पाइने नेपालमा मात्रै हो । पर्यटनका लागि यो नै आर्कषण हो ।’
महोत्सव बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म हेर्न मिल्ने ढकालले जानकारी दिए। उनी भन्छन,‘बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म व्यवसायीक बेलुन फ्लाइटहरु संचालन हुन्छन। दिउँसो २ बजेपछि म्युजिकल कन्र्सटहरु हुन्छन। फूड स्टलहरु छन् । त्यसैगरी साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म बेलुन ग्लो हुन्छ।’
बेलुन महोत्सवमा व्यवसायीक बेलुन फ्लाईटका लागि नेपालीका लागि प्रति टिकट एघार हजार रुपैयाँ तोकिएको छ भने सार्क मुलुकका लागि एक सय २० डलर र विदेशी मुलुकका लागि दुई सय डलर रुपैयाँ टिकटको मूल्य तोकिएको छ।



