
सर्लाही : सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत थापा विरुद्ध विशेष अदालतमा दुईवटा मुद्धा छन् । विशेष अदालतमा मुद्धा दायर पछि थापा अहिले निलम्बित छन् । चरम भ्रष्टाचार गरेको आरोपमा निलम्बित थापा भने अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्धै खनिइरहेका छन् ।
माओवादीबाट निर्वाचित भएका थापा प्रचण्ड प्रधानमन्त्री भएका बेला आफुलाई कसले छुने भन्दै दम्भ गर्थे । मुद्दा विशेष अदालतमा जान नदिनका लागि माओवादी नेताहरुमार्फत उनले धेरै प्रयास पनि गरे । तर, अख्तियारले गहिरो अध्ययनपछि थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि थापाको निशानामा अहिले अख्तियार प्रमुृख राई पर्न थालेका छन् । प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वातामा उनले अख्तियार प्रमुख प्रेम राईमाथि नै छानविन गर्नुपर्ने बताए । ‘आफै आरोपितले अरुलाई आरोप लगाउन मिल्दैन । आफ्नो छानविन गर्न नपर्ने हाम्रो गर्ने ?’ थापाले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई मुछिनुभएको ललिता निवास काण्डमा राईलाई छानविन गर्नुपर्दैन ? जसरी मेरो छानविन भयो प्रेम राईको पनि त्यसैगरि हुनुपर्छ ।’
अन्तर्वार्ताका क्रममा अख्तियारप्रति असन्तुष्ट देखिएका थापा अदालतप्रति भने नरम देखिन्थे । उनले पटक पटक सम्मानित अदालत भन्दै अदालतको फैसला भने निशर्त मान्ने बताएका छन् । उसो त थापा अहिले अख्तियारबाट मुद्दा अघि बढाउन नदिन गरेको प्रयास असफल भएपछि अहिले अदालत मिलाउने भन्दै सक्रिय रहेको स्रोत बताउँछ । अहिले मुद्दा दायर गर्दा अख्तियारविरुद्ध खनिएका थापा भोली आफ्नाविरुद्ध फैसला आए अदालतलाई सम्मानित भनिरहलान् ? वा न्यायाधीशको पनि छानविन माग गर्लान् ? चासोका साथ हेरिएको छ । असार ९ गतेसम्म अदालतमा उपस्थित हुनुपर्ने भएपनि थापा अहिलेसम्म अदालत नआएकाे विशेष अदालत स्राेतले बतायाे ।
के छ थापाविरुद्ध दायर मुद्दामा ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।
कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।
थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।