काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दूल सतारले नेपाली कांग्रेसको विधान समयानुकूल संशोधन हुनुपर्ने बताएका छन् । पार्टी सुदृढिकरणका लागि कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला दौडाहामा रहेका उनले संगठनलाई चुस्तदुरुस्त राख्ने र कार्यकर्तालाई अग्रसर र जागरुक बनाउने गरि विधान संशोधन हुनुपर्ने बताए । तल्लो तहबाट आएका सुझावहरु विधान संशोधनका क्रममा समेट्नका लागि आफूहरुले पहल गर्ने पनि उनको प्रतिवद्धता थियो । नेपाल मुस्लिम संघका पूर्वअध्यक्षसमेत रहेका सतारले भातृ संस्था गठन र परिचालनमा विशेष ध्यान दिनुपर्नेमा पनि जाेड दिए ।
‘अब आउने केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको विधान संशोधन समिति बनाउँदैछ । पहिलाको जस्तै समिति बन्ने र आफ्नै ढँगले संशोधन गर्ने हो भने कांग्रेस कार्यकर्ताहरुलाई जुझारु बनाउन , अग्रसर बनाउन सक्दैन । अब समयानुकूलको, संगठन चुस्त बनाउने कार्यकर्ता जागरुक बनाउने गरि विधान संशोधन गर्नुपर्छ,’ केन्द्रीय सदस्य सतारले भने । जिल्ला सभापतिले कोरम पुर्याउन नसक्ने खालको अब्यवहारिक विधान बन्न नहुने उनको भनाई थियो ।
त्यस्तै, उनले कांग्रेस पार्टी जनताका लागि भएकाले यहाँका दलित,जनजाती,मुस्लिम, महिला र तल पारिएका सबै समुदायका पक्षमा कांग्रेस अघि बढ्ने प्रतिवद्धता पनि जनाए । ‘अबको कांग्रेस कस्तो ? १५ वर्षमा देशलाई कांग्रेसले कहाँ पुर्याउने ? छलफल हुन जरुरी छ,’ उनले भने, ‘एउटा महाधिवेशनबाट अर्को महाधिवेशन र एउटा चुनावको चिन्ता गर्नु कांग्रेसको सिद्धान्तअनुसार हुँदैन ।’ त्यस्तै सतारले पार्टीलाई बलियो बनाउन केन्द्रमा गुट भएपनि तल्लो तहमा गुट हुन नहुनेमा जोड दिए । दाङमा आयाेेजित कार्यक्रममा बाेल्दै नेेता सतारले यस्ताे बताएका हुन् ।
सतारसहितको कांग्रेस नेता एनपी साउद, डिला संग्रौला कर्णाली र लुम्बीनी प्रदेश भ्रमणका छन् । उनीहरुले तल्लो तहका नेता कार्यकर्ताकाे सुझाव सनिरहेका छन् भने कांग्रेसलाई बलियो बनाउन एकढिक्का भएर लाग्न पनि आग्रह गरेका छन् ।



