
आदरणीय सम्पादक ज्यूहरु,
निकै गम्भीरता साथ लेख्दैछु, तपाईंहरुको काम पत्रकारिता गर्नु हो, आफू मातहत काम गर्ने पत्रकारको रक्षा गर्नु हो र पत्रकारिताको मूल्य जोगाउन आफ्नो अडानमा अडिनु हो।
तर, मनै निचोरेर भन्दैछु– तपाईंहरु पत्रकारिता भन्दा ज्यादा विज्ञप्तिकारिता गरेर एउटा सामान्य भन्दा सामान्य पत्रकारलाई लज्जाको मुत खुवाई रहनु भएको छ।
आदरणीय सिरोहियाको ठाउँमा यो देशको कुनै पनि पत्रकार हुनुहुन्थ्यो भने म उहाँको पक्षमा उभिने थिएँ। भारतकी गौरी लंकेश, बांगलादेशका शाहिदुल आलम, गाजाका पत्रकार र कान्तिपुरका पत्रकारहरुको पक्षमा उभिन्छु भने म सम्पादकको अडानको पक्षमा पनि उभिने थिएँ।
यी शब्द लेख्दा पनि मेरा हातहरु काप्दै छन्– तपाईंहरु कान्तिपुर, अन्नपूर्ण, नागरिक लगायतमा श्रमको मूल्य माग्ने पत्रकारहरुको पक्षमा भन्दा लगानीकर्ता अर्थात मालिकको पक्षमा उभिनु भयो। म लज्जित भएँ।
कान्तिपुरका १० पृष्ठमा ४ पृष्ठ आफ्नो मालिकको पक्षमा लेख्दा तपाईंका हात कामेनन्, जबकी तपाईंले आफ्नै कुर्सीको छेउमा बस्ने साथीले धर्ना दिँदा त्यसलाई पानी पनि सोध्नु भएन। कान्तिपुरमा तलब नपाएकै कारण कान्स फिल्म फेस्टिबल जान पाईला उचालेकी पत्रकारको भिजा रिजेक्ट हुँदा तपाईंका लागि पत्रकारिता डगमगाएन। गर्भवती भएकै कारण जागिरबाट निकालिएकी पत्रकार, आफ्नो ठूलो भुँडी हल्लाउँदै घर लखर–लखर हिँडेर जाँदा तपाईंका लागि प्रेस स्वतन्त्रतामा कुनै चुनौती देखिएन। म फेरी लज्जित भएँ।
पत्रकारले आत्महत्या गरेपछि मात्र तपाईंको जमिर जाग्ने हो वा त्यसका लागि पनि मालिकले भनि दिनु पर्ने हो? प्लिज हामीलाई थप लज्जित नबनाउनुस। म वास्तवमै तपाईंका नजरहरु आफ्ना सन्तानका अघिल्तिर, युवा विध्यार्थीका अघिल्तिर र सामान्य भन्दा सामान्य पत्रकारका अघिल्तिर पनि नझुकोस भन्ने चाहन्छु।
कम्तिमा एउटा पाठक, दर्शक, श्रोताको नजरमा एउटा पत्रकारको गरिमा जोगाई दिनुस। आफूलाई मालिकको अघिल्तिर होइन पत्रकारका अघिल्तिर उभ्याई दिनुस। पत्रकारिताको मूल्यका अघिल्तिर उभ्याई दिनुस। त्यसपछि बल्ल पत्रकारिता र प्रेस स्वतन्त्रता भन्न सुहाउँछ।
प्लिज मालिकको अभिमान र घमण्डलाई आफैले आर्जन गरेको अभिमान र घमण्ड ठानेर त्यसलाई पत्रकारिताको भाष्यले सिञ्चित नगर्नुस।
( ३१ सम्पादकले बुधबार कान्तिपुरका अध्यक्ष कैलास सिराहेिया पक्राउमा विज्ञप्ति जारी गरेपछि लेखक नरेश ज्ञवालीले आफ्नाे फेसबुकमा लेख्नुभएकाे छ)