काठमाडौं । नेकपा (एमाले) परित्याग गरी मोरंग जिल्ला कमिटीका सदस्य एवं एमाले निकटको निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल, एमाले मोरंग जिल्ला कमिटी एवं अनेमसंघका नेतृ सरस्वती खरेल रिजालले आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले राजनीतिक जिवनको सफलताको शुभकामना व्यक्त गरेका छन्। आजपा प्रवेश गर्नेलाई पार्टीमा सम्मानजनक र उचित जिम्मेवारी दिइने वरिष्ठ उपाध्यक्ष थापामगरले जनाएका छन्।
यसैगरी बैठकले जानकी जयन्ती मनाउने निर्णय गरेको छ। आउदो ३ जेठमा आजपाले जानकी जयन्ती मनाउँने निर्णय गरेको हो। नेपाल, भारत सहित विश्वभरी रामनमी मनाउँदै आइएको भए पनि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको पहलमा विगतदेखी जानकी जयन्ती मनाउँने सुरुवात भएको थियो। तत्कालिन नेकपामा हुदादेखी नै साहको पहलमा जानकी जयन्ती मनाइदै आइएको छ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको पार्टीको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले जानकी जयन्ती भव्यरुपमा मनाउँने निर्णय गरेको उपत्यका विशेष कमिटीका सचिव सुनिता साह क्रान्तिले जनाएकी छन् । काठमाडौंको कुपण्डोलमा ३ जेठमा जानकी जयन्ती मनाउँने निर्णय भएको हो । आजपाले काठमाडौं सहित जनकपुरधामका साथै मधेसका बिभिन्न शहरमा जानकी जयन्ती भव्यरुपमा मनाउँने निर्णय गरेको छ ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगर लगायतको विशेष सहभागिता रहेको पार्टीका स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जनाएका छन् ।



