इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । तेहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई इस्लामावादको जिल्ला तथा सेसन अदालतले दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।
इमरानको पार्टी तेहरिक-ए-इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।
पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।
यसअघि खान सन् ०२० मा एकजना न्यायाधीशलाई धम्की दिएको र तोसाखाना उपहार सन्दर्भका मुद्दामा सुनुवाइमा उपस्थित नभएका कारण दुई भिन्दाभिन्दै पक्राउ पुर्जी जारी भएको थियो । सन् ०२३ मा अल कादिर विश्वविद्यालय ट्रस्टसँग जोडिएको मामलिामा भ्रष्टाचार गरेको आरोपमा इस्लामावाद उच्च अदालत परिसरबाट मे ९ तारिखमा गिरफ्तार भएका थिए ।