काठमाडौं : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताले अपेक्षा गरेअनुसार परिणाम महसुस गर्न नसकेको बताएकी छन्।
प्रतिनिधिसभामा सम्बोधन गर्दै सांसद थपलियाले सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको प्रभाव देखिन नसकेको टिप्पणी गरिन्। उनले महँगी बढिरहेको, सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार नआएको तथा जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको आरोप लगाइन्। साथै, सुकुम्बासी समुदाय अझै पनि सरकारको निर्णयको प्रतीक्षामा रहेको उनको भनाइ थियो।
भ्रष्टाचारविरुद्ध कडा कारबाही आवश्यक रहेको उल्लेख गर्दै उनले कारबाही निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिइन्। अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा रहने भन्दै सरकारले नागरिकसँग प्रतिशोधको भावनाले काम गर्न नहुने बताइन्।
सांसद थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न समस्या देखिन थालेको दाबी गर्दै त्यसको असर पर्सा जिल्लाको ठोरी सीमा नाकामा समेत परेको उल्लेख गरिन्। भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा त्यहाँको पर्यटन व्यवसाय प्रभावित भएको र भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको अभावका कारण समस्या थपिएको उनको भनाइ थियो।
उनले सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरिन्।
भाषणको अन्त्यमा सांसद थपलियाले सरकारको मूल्याङ्कन घोषणाले नभई परिणामले हुने उल्लेख गर्दै जनताले आश्वासनभन्दा अनुभूति हुने परिवर्तन चाहेको बताइन्। उनले सरकारले बाँकी अवधिमा आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतारेर जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याइन्।




