एकीकृत समाजवादीको १०औँ महाधिवेशन नजिकिँदै गर्दा युवा संघभित्र विवाद चर्किएको छ ।
संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबीच विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा समानान्तक कमिटी र कारबाहीसम्म पुगेको छ ।
असन्तुष्ट पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका छन् । पौडेल समूहले संयोजक नितेश पौडेल र सहसंयोजक फुर्वा लामालाई तोकेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेरै भेला गरिएको पौडेल पक्षका एक नेताले बताए ।
युवा संघको संस्थापन पक्षले कारबाही गरेको छ । संयोजक विकको अध्यक्षतामा शनिबार बसेको आकस्मिक कार्यालय बैठकले सहसंयोजक पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ ।
प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्र्देशन दिएको कार्यालय सदस्य सुशील भट्टराईले जानकारी दिए ।
संघका पूर्वउपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हस्त शाही अवैधानिक भेलामा उपस्थित समानान्तर कमिटी घोषणा गरेकोमा पार्टी केन्द्रीय कमिटीलाई कारबाही गर्न संघले माग गरेको छ ।
संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । यसअघि पनि पौडेलले दीपक मनांगेको उपस्थितिमा समानान्तर भेला गरेका थिए ।

