काठमाडौं । लागु औषध-खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले आज पक्राउ गरेको छ।
झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ परेका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए।
पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए। फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए। तर, जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो। २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्धय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भएपनि उनी पक्राउ पर्न सकेका थिएनन्।
यस्तो छ दावाले अदालतसमक्ष गरेको वयानको सारांश
म बाट लागु औषध वरामद भएको होइन मेरो साथी नविन लामा वनस्थलिमा खाजा खान गएको थिएँ। निजसँग लागु औषध खैरो हेरोईनको प्याकेट रहेछ। उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध वरामद गरी निजलाई कुटपिट गरि छाडी दिए र मलाई समाते। प्रहरी समक्ष गरेको बयान मेरो होइन। जबरजस्ती झुठा व्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन्। मलाई पढ्न समेत दिइएन। लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन।



