वीपी साह /

नयाँले नयाँको आलोचना नगर्नु रे!

एउटा पुरानोले गलत गर्दा अर्को पुरानोले लुकाउँथे । वाइडबडी काण्ड, यति काण्ड, ओम्नी काण्ड, ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, टेरामेक्स काण्ड, आदी आदी पुरानाहरु मिलेर अपराध गरे।

त्यही पुरानाहरुले गरेका काण्डबाट पीडित जनताले हामी नयाँलाई अस्तित्वमा ल्यायो । अब हामी नयाँहरुले पनि पुरानै जस्तो एकको अपराध अर्कोले लुकाउने धन्दा सुरु गर्यौं भने हामी नयाँ हुनुको के अर्थ ?

ती पुरानाहरुको विकल्पमा हामी नयाँलाई जनताले संसदमा पठाउनुको के अर्थ ? नयाँ भनिएकाहरु पनि त्यही पुरानोको फोटोकपी हो भनेर जनतालाई निरास बनाउने त ?

सैद्धान्तिक रुपमा म प्रष्ट छु, ‘राजनीतिक भ्रुण हत्या गर्नु हुँदैन’। तर, नयाँ हुँदैमा नयाँले गरेको अपराधको ढाकछोप गरिन्न ।

नेपालको सत्ता, पुराना राजनीति दलहरुले सिद्धान्त, दर्शन, मूल्य मान्यताबाट विचलित र स्खलित हुँदा स्वार्थको संघर्ष (कन्फ्लिक्ट अफ इन्ट्रेष्ट)को सिद्धान्तलाई नजरअन्दाज गर्दै आएका छन् । हामी नयाँले पनि स्वार्थको संघर्ष सिद्धान्तलाई नजरअन्दाज गर्ने त ?

जुन संस्थाले जुन व्यक्तिहरुमाथि अनुसन्धान गर्दैछ त्यही व्यक्ति त्यस संस्थाको मुखिया भएर बस दिने ? अनी नयाँ हो भनेर तैँचुप मैँचुप भएर हामीले बस दिनु पर्ने ?

हामी नयाँमाथि थप जिम्मेबारी छ, सुशासनको, दर्शनको, मूल्य मान्यताको । त्यसकारण रास्वपाका साथीहरुलाई पनि अनुरोधः हामी नयाँ हौं, जनताको आशा भरोसामाथि कुठाराघात गर्ने छुट छैन । हामीतपाईलाई अस्तित्वमा ल्याउन जनताको आशा भरोसा र समयचक्रको ठूलो योगदान छ । यो समयचक्रलाई दुरुपयोग नगरौं।

‘सबै पुराना दलहरु भ्रष्ट हुन्, सबै पुराना नेताहरु चोर हुन्’ भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्य हामी नयाँको विषयमा पनि निर्माण हुन नदिउँ । होइन भने यहाँ एउटाले खराब गर्दा अर्को पनि पेलिने परिपाठी छ ।

त्यसकारण स्वार्थको संघर्ष सिद्धान्तलाई खरोढंगले पालना गरौं : आरोप छ भने स्वतन्त्रतापूर्वक निश्पक्ष छानविन हुन दिउँ । रास्वपाका सभापति, सभापतिकी पत्नी, उपसभापतिलगायतका व्यक्तिहरु सहकारी काण्डमा निर्दोश छन् भने किन आत्तिनु ?

राजनीतिमा मन्त्री पद नै अन्तिम सत्य होइन । अहिले २१ सिटे हुनुहुन्छ, जनताको विश्वास कायम राख्न सक्नु भयो भने २०८४ मा ३१ सिटे भएर आउन सक्नु हुनेछ । प्रधानमन्त्री कार्यालयमा तपाईको सभापतिको फोटो पनि झुण्डिन सक्छ ।

त्यसकारण इमान जोगाउँ, पद होइन ।

 

( साह जनमत पार्टीका सचिव हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको