काठमाडौँ : उपभोक्ता मञ्च नेपालको आयोजनामा ‘महँगी तथा गुणस्तर सन्दर्भमा व्यापारी, उपभोक्ता र सरकारी पक्ष’ विषयक एकदिने विचारगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बजारको वर्तमान अवस्था, मूल्य निर्धारण र गुणस्तरका विविध आयाममाथि सरोकारवालाहरूबीच गहन छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मानव अधिकार आयोगका आयुक्त माननीय मिहिर ठाकुरले उपभोक्ताको हित र अधिकार पनि मानव अधिकारकै एक संवेदनशील हिस्सा भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा मानव अधिकार आयोगले उपभोक्ता मञ्चसँग सहकार्य गर्दै मानवीय संवेदनशीलताका कार्यहरूमा सक्रियतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गोष्ठीमा मञ्चका केन्द्रीय सचिव शम्भुप्रसाद शाहले मुख्य विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलका क्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्ना भनाइ र समस्याहरू राखेका थिए ।
बजार तथा आपूर्ति व्यवस्था वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकी वन्दना झाले उपभोक्ता संरक्षणका सरकारी प्रयासबारे चर्चा गर्नुभयो । उद्योग तथा उत्पादनस् नेपाल चिया उद्योग संघ तथा नेपाल वनस्पति घ्यू तेल उत्पादन संघका दिवाकर राज पाण्डेले उत्पादन र बजार मूल्यको सन्तुलनबारे धारणा राख्नुभयो ।
ग्यास बिक्री मापदण्ड सम्बन्धमा सेवानिवृत्त अधिकारी शशीभुषण यादवले ग्यास बिक्री वितरणको मापदण्ड र यस क्षेत्रमा सुधारिनुपर्ने पक्षहरू औंल्याउनुभयो । अर्की वक्ता ज्योत्सना श्रेष्ठले बजारीकरण र मूल्य निर्धारण प्रक्रियामा रहेका अस्पष्टताहरूमाथि प्रकाश पार्नुभयो।
नेपालमा भैरहेको जारको पानी उत्पादन संघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङले जार र बोतलको पिउने पानी बिक्री मूल्यमा बजारमा देखिएको असमानताको हल्ला र त्यसका प्राविधिक कारणहरूबारे स्पष्ट पार्नुभयो ।

गोष्ठीमा उपस्थित सहभागीहरूले उपभोक्ता मञ्चले उपभोक्ता हितका लागि गर्दै आएका कार्यहरू सही मार्गमा रहेको भन्दै प्रशंसा गरे । तर, उनीहरूले बजारको तल्लो तह (सतही रूप)मा अझै पनि व्यावहारिक सरलीकरण र उपभोक्ताका लागि सहज वातावरण बन्न नसकेको भन्दै संस्थाको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुघनसिंह देवले उपभोक्ताहरूको हक–हित संरक्षणका लागि मञ्च सधैं तयार रहेको बताउनुभयो । उहाँले बजारमा देखिएका समस्या समाधान गर्न र उपभोक्तालाई सचेत बनाउन यस्ता गतिविधि र गोष्ठीहरू आगामी दिनमा नेपाल राज्यभर नै आयोजना गरिने जानकारी दिँदै सभा विसर्जन गर्नुभयो ।
मञ्चका प्रवक्ता उज्ज्वलराज गौतमले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको