काठमाडौं । त्यसो त नेपाली समाजमा अझै पनि केही स्थानमा विद्यमान छाउपडी प्रथाको विषयलाई मुख्य कथावस्तु बनाइएको चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र चिरायु फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रले महिलामाथि परम्परा र अन्धविश्वासका नाममा हुने विभेद, सामाजिक बहिष्कार तथा त्यसविरुद्धको संघर्षलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ। जे होस् निर्माण टिमका अनुसार ‘हली’ मनोरञ्जन मात्र नभई समाजमा अझै विद्यमान कुरीतिबारे बहस र सचेतना फैलाउने उद्देश्यका साथ निर्माण गरिएको हो। सार्वजनिक टिजर र पोस्टरले पनि ग्रामीण परिवेश, महिलाको संघर्ष र परिवर्तनको सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।
चलचित्रमा प्रमोद दीप, सरोज खनाल, सुजाता थापा र अरुणा कार्कीको प्रियंका कार्की, पूजा शर्मा, किरण केसी, दिलीप रायमाझी, दीपा श्री निरौला, लगायतका कलाकार हरुको अभिनय रहेको छ। अनुभवी र नयाँ पुस्ताका कलाकारको संयोजनले चलचित्रलाई थप आकर्षक बनाएको निर्माण पक्षको दाबी छ।
नेपालको संविधान र कानुनले छाउपडी प्रथालाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि देशका केही दुर्गम क्षेत्रमा यसको अभ्यास अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। यही सामाजिक यथार्थलाई चलचित्रले कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्देशक ओम प्रतिकले बताएका छन्।
सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्रको संख्या बढिरहेका बेला ‘हली’ले पनि एउटा संवेदनशील मुद्दालाई पर्दामा उतारेको छ। मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्य बोकेको चलचित्रले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासोका साथ यसको प्रदर्शनको प्रतीक्षा भइरहेको छ।
‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शन हुनेछ।




