काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिता रहने भनी सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।
मंगलबार एक स्पष्टीकरण जारी गर्दै घिसिङले आफू मन्त्री बन्ने कुरा संवैधानिक र नैतिक दुवै हिसाबले आधारहीन रहेको स्पष्ट पार्नुभएको हो।
संवैधानिक मर्यादा र जनादेशको सम्मान
नेपालको संविधानको प्रावधानलाई स्मरण गराउँदै घिसिङले भन्नुभएको छ, “नेपालको संविधानअनुसार गैर-सांसद व्यक्ति मन्त्री बन्न सक्दैन। जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।” उहाँले सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै पनि तहमा छलफल नभएको समेत प्रष्ट पार्नुभएको छ।
पार्टी सुदृढीकरणमा केन्द्रित
निर्वाचनको परिणामलाई आत्मसात गर्दै आगामी बाटो तय गर्ने उहाँको भनाइ छ। “हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं,” उहाँले उल्लेख गर्नुभएको छ।
भ्रममा नपर्न आग्रह
सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माण गर्ने आफ्नो प्रतिबद्धता अटल रहेको दोहोर्याउँदै घिसिङले भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैलाई अनुरोध गर्नुभएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा घिसिङलाई नयाँ सरकारको मन्त्रीका रूपमा चित्रण गर्दै विभिन्न टिकाटिप्पणी भइरहेका थिए, जसलाई उहाँले ‘गलत प्रचार’ को संज्ञा दिनुभएको छ।



