काठमाडौँ, २९ माघ ।नेपाल इन्जिनियर्स एशोसिएसनले मुलुकको भौतिक पूर्वाधार विकास र विपद् व्यवस्थापनमा इन्जिनियरहरूले पुर्याएको योगदानको कदर हुन नसकेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रममा एशोसिएसनले पछिल्लो समय विकास निर्माणका क्रममा देखिने प्राविधिक र प्रशासनिक कमजोरीको सम्पूर्ण दोष इन्जिनियरहरूमाथि मात्र थोपर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति प्रकट गरेको छ।
विपद् र विकासमा अग्रणी भूमिका
प्रेस वक्तव्यमार्फत एशोसिएसनले सूचना प्रविधि, ऊर्जा, सडक, पुल, जलविद्युत् र सहरी विकासजस्ता क्षेत्रमा नेपाली इन्जिनियर र आर्किटेक्टहरूले गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराएको छ। २०७२ सालको भूकम्प, कोरोना महामारी, जाजरकोट भूकम्प र हालैका बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा इन्जिनियर समुदायले निःशुल्क र स्वतःस्फूर्त रूपमा अग्रपंक्तिमा रहेर सेवा पुर्याएको तथ्यलाई एशोसिएसनले विशेष जोड दिएको छ।
दोषारोपणको गलत भाष्य र मनोबलमा असर
वर्तमान समयमा आयोजनाहरूमा देखिने प्राविधिक त्रुटि, प्रशासनिक ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण हुने समस्याहरूमा इन्जिनियरहरूलाई मात्र दोषी देखाइनु दुःखद रहेको एशोसिएसनको ठहर छ। “कुनै पनि पूर्वाधारमा समस्या देखिनुमा वैज्ञानिक अध्ययन, डिजाइन, बजेट व्यवस्थापन र गुणस्तर नियन्त्रण जस्ता बहुआयामिक कारणहरू हुन्छन्,” महासचिव विनाेदप्रकाश पण्डितले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, “तर सबै कमजोरीलाई भ्रष्टाचारजन्य कसुरको रूपमा मात्र चित्रण गर्दा प्राविधिक क्षेत्रको मनोबल कमजोर भएको छ”।
प्रमुख मागहरू: स्टाफ कलेज र वृत्ति विकास
इन्जिनियरिङ पेशालाई थप सुदृढ र व्यवस्थित बनाउन एशोसिएसनले राज्यसमक्ष विभिन्न नीतिगत मागहरू प्रस्तुत गरेको छ:
इन्जिनियरिङ स्टाफ कलेजको स्थापना: इन्जिनियरहरूलाई नयाँ प्रविधि र व्यवस्थापन क्षमतामा प्रशिक्षित गर्न ‘नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान’ (NETRA) स्थापना गर्न माग गरिएको छ। यो माग विगत दुई दशकदेखि उठ्दै आए पनि सरकारले बेवास्ता गरेको एशोसिएसनको आरोप छ।
न्यूनतम सेवा प्रवेश सातौँ तह: स्नातक उत्तीर्ण इन्जिनियरहरूको सुरुवाती सेवा प्रवेश न्यूनतम सातौँ तह अनिवार्य गर्नुपर्ने माग गरिएको छ।
दक्ष जनशक्तिको संरक्षण: राज्यले इन्जिनियरिङ जनशक्तिको समुचित उपयोग गर्न नसक्दा दक्ष युवाहरू विदेश पलायन हुने, पेशागत असुरक्षा बढ्ने र बेरोजगारी जस्ता गम्भीर समस्याहरू सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
सञ्चार क्षेत्रसँग सहकार्यको अपिल
एशोसिएसनले सञ्चार माध्यमहरूलाई पूर्वाधार र प्राविधिक विषयमा समाचार सम्प्रेषण गर्दा वैज्ञानिक तथ्य र विज्ञहरूको धारणालाई समेत समेट्न अपिल गरेको छ। सत्य र तथ्यपरक सूचनाले मात्र समाजमा सकारात्मक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै एशोसिएसनले आगामी दिनमा सञ्चार क्षेत्रसँगको समन्वयलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
मुलुककाे आर्थिक समृद्धि र दिगो विकासका लागि इन्जिनियरिङ व्यवसायलाई प्रवर्द्धन गर्ने नीति ल्याउन सम्पूर्ण राजनीतिक दलहरूलाई एशोसिएसनले सार्वजनिक अपिल समेत गरेको अध्यक्ष सुवासचन्द्र बरालले बताए ।



