भरतपुर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे वलियो दावेदार देखिएका छन् । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक भइसकेका घिमिरे जिल्लाको राजनीतिमा निर्विवादित पात्र मानिन्छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने भएपछि अहिले उनी आवद्ध दल नेपाली कांग्रेस उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित सिंगो पार्टीले घिमिरेलाई विश्वास गर्ने चितवन कांग्रेस नेताहरुको बुझाइ छ ।
नेपाल विद्यार्थी संघको राजनीति देखि सामाजिक जीवनमा निर्विवाद व्यक्तित्व बनाएका घिमिरेले चितवन ३ मा अन्य पार्टीका उम्मेदवारलामाथि भारी पर्ने विश्वास व्यक्त गरिएको छ । घिमिरेले आफूले टिकट पाएमा चितवनमा नेपाली कांग्रेसको शाख फर्काउन लागि पर्ने बताए ।
उनले भने ‘म लामो समयदेखि राजनीतिमै छु, पार्टीले दिएको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेकाले यस पटक मेरो कामको मूल्यांकन हुने विश्वास गरेको छु ।’
नेपाली कांग्रेसमा सुशील कोइरालाको पदचापमा हिँड्ने घिमिरेले जिल्लाका अन्य नेताहरुसँग पनि उत्तिकै सामिप्यता कायम गर्दै आएका छन् ।
चितवन जिल्ला नेपाली कांग्रेसको गढको रुपमा लिइएको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले विजय प्राप्त गरेको क्षेत्र पनि हो । सो क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले रुख चिन्हमा मतदान गर्न नपाएको लामो समय भएकाले नेपाली कांग्रेसको जनाधार कायम राख्न पनि घिमिरेको उम्मेदवारी आवश्यक रहेको क्षेत्रीय कार्यसमितिका एक सदस्यले बताए ।



