काठमाडौं: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्।कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार कार्यसम्पादन समिति बैठकमा जानेक्रममा बैठकस्थलमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले निधिमाथि दुर्व्यवहार गरेका थिए । निधिमाथि भएकाे त्यस्तो व्यवहार गलत भएकाे महामन्त्रीहरूले बताएका छन् ।
महामन्त्री थापाले सानेपा घटनामा महामन्त्री शर्माकाे धारणामा आफ्नो सहमति भएको बताएका छन् ।
विश्वप्रकाशले के भनेका छन् ?
पार्टीको केन्द्रीय कार्यालयमा बिशेष बैठकहरु चलिरहेका बेला मिडिया बाहेक अरुलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो । रास्ट्रीय सभाको उम्मेदवारी चयन सम्बन्धि बैठकका कारण आज पनि अरुलाई प्रवेशमा रोक लगाइएको थियो । पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो ।
कुनैपनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ । तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ । समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दु:खद र गलत पाटो हो । आज अग्रज नेता विमलेन्द्र निधी कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक ब्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो ।
`विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्ने´ भनेर आएको भ्रमपुर्ण हल्लालाई साथीहरूले `यस्तो कुनै कार्यक्रम नरहेको´ भनेर सार्वजनिक रुपले बिहानै स्पष्ट गरिसक्नु भएको थियो । स्वयं नेता निधिले `बिशेष महाधिवेशन पक्षधरले होइन अरुले गरेको बुझें´ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ l यस्तो तथ्यका बाबजुद बिशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दु:खद छ र निन्दनीय पनि ।
नम्रता साथ मेरो आग्रह छ- राजनीतिमा सहमति / असहमति, समर्थन / विरोध सबै कुरा हुन्छ । तर सबैभन्दा बढी जरुरी हुन्छ संयम र परिपक्वता । यसलाई सबै थरिले गम्भीर आत्मसात गरौं !



