काठमाडौं । वाइ वाइ चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको छ ।
जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ । यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद रू. ३० लाख प्राप्त गर्नेछ ।
यसका साथै वाइ वाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उदेश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ ।
जसमा प्रत्येक रन बनाएवापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।
चौधरी गु्रप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।



