कलैया । अहिले तराई मधेसमा चर्को गर्मी छ । तराई मधेससंगै देशैभरी बढेको गर्मीले मान्छेहरु घर बाहिर बिना काम निकल्न चाहेका छैनन् । काम विशेषले मात्रै घर बाहिर निकल्न खोजेका मान्छेले कतिखेर पानी पर्ला र अलि चिसो होला भन्ने चाहना राखेका छन् ।
प्रचण्ड गर्मीका बीचमा राजनीतिक दलका कतिपय बाहिर हुने कार्यक्रम भईरहेको छैन् । तर प्रचण्ड गर्मीको प्रवाह नगरी बाराको बारागढी गाउँपालिका ७ सुखीपथरामा आम जनता पार्टी (आजपा)को भव्य खुल्ला कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार सुखीपथरामा चर्को गर्मीका बीचमा सर्वसधारण देखी गाउँका अगुवा नेताकार्यकर्ताहरु सो कार्यक्रममा सहभागि भए । गर्मीको प्रवाह नगरी उनीहरु आजपामा प्रवेश गर्नका लागि पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको पर्खाइमा थिए । बिहान ११ बजे कार्यक्रम सुरु हुने भएपछि उनीहरु जम्मा भइसेका थिए । तर आजपा अध्यक्ष साह निर्धारित समयभन्दा तीन घण्टापछि कार्यक्रममा पुगेका थिए ।
आजपा अध्यक्ष साह सुखीपथरामा पुग्दा मान्छेहरु गर्मीले असिनपसिन भईसकेका थिए । खुल्ला अकाशमुनि भएको सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा सहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता एवं समाजसेवीहरु आजपामा प्रवेश गरे । नवप्रवेशीलाई आजपा अध्यक्ष खादा, माला, अविर लगाउँदै पार्टीमा स्वागत गरेका थिए ।
देशमा बढदै गएको भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवं कुशासनका बिरुद्धमा आजपाले लिएको अडान ठिक लागेर तिनिहरु आफ्नो मुलपार्टी परित्याग गरी आजपामा प्रवेश गरेको बताउँछन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवं कुशासनको बिरुद्धमा निरन्तर लडिरहने र संघर्षका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
मधेस प्रदेश शिक्षाको अवस्था कमजोर भएको बताउँदै उनले आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थी अनुपातका आधारमा एवं बिषयगत शिक्षकको माग गर्दै संघर्ष गरिहेको बताए । सो आन्दोलनलाई सफल बनाई आफ्नो छोराछोरीको उज्जवल भविष्य निर्माणमा उनले जोड दिए ।
साथै गाउँ, प्रदेश देखी संघीय बजेटमा हुने भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गराउँने तथा त्यस्ता भ्रष्टहरुलाई जनस्तरबाटै कारवाही थाल्नुपर्ने साहले बताए । भ्रष्टाचारीहरु जहाँ भेटिन्छन त्यही जनकारवाही थाल्नुपर्ने उनले आह्वान समेत गरे । भ्रष्टाचारीहरुलाई कारवाही गर्न सरकार असफल भएको बताउँदै उनीहरुलाई कारवाही नगर्दासम्म मुलुक समृद्ध नहुने उनले बताए ।
समाजसेवी एवं माओवादी केन्द्रका नेता सियाराम साहको अध्यक्षतामा भएको कार्यक्रममा साह सहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता, समाजसेवीहरु आजपामा प्रवेश गरेका छन् ।