अनुराग शाह/ हाम्रो मातृपार्टी नेपाली कांग्रेसलाई अहिले सत्ताको धाक र धक्कु लगाएर सहकारीमा करोडौँ रकम अपचलन गरेर राजनीतिमा आएकाहरुले संसदमा च्यालेन्ज दिइरहेका छन्। ती सहकारी ठगका विरुद्द सदनमा हाम्रो मातृ पार्टी खरो रुपमा प्रस्तुत भैरहेको बेला यसको भातृसंस्था नेपाल विद्यार्थी संघ भने आफ्नो जिम्मेवारी भुलेर लाज पचाएर व्यापार व्यवसायको कुरा गर्दैछ्।
हिजो जनताका अधिकारका लागी आवाज उठाउदा पञ्चायतले कांग्रसेमाथि च्यालेन्ज गर्दा त्यो पञ्चायती व्यवस्थाका विरुद्द सडकमा उत्रिएर पञ्चायतलाई फालेर बहुदलीय व्यवस्था ल्याएको र बहुदलीय व्यवस्थामाथि निरङ्कुश राजाले प्रहार गर्दा लामो इतिहास बोकेको राजालाईनै विदा गर्ने सडक आन्दोलनको नेतृत्व गरेको नेपाल विद्यार्थी संघको त्यो इतिहास बिर्सेर नेबिसंघको यो नेतृत्व अहिले सहकारी ठगका विरुद्द बोल्न किन डराएको हो? मेरो नेपाल विद्यार्थी संघको यो नेतृत्वलाई आग्रह छ कि सहकारीमा लाखौ जनताको पैसा हिनामिना गर्ने विरुद्द सदनमा कांग्रसेले आगो ओकले जस्तै गरेर सडकमा झर्ने हिम्मत गर्नुहोस,यो हिम्मत पनि नगर्ने, नेपाल विद्यार्थी संघलाई महाधिवेशन तर्फ उन्मुख पनि नगराउने,जनताको जनजिविकाको सवालमा पनि मौन बस्ने र विभिन्न फण्डा फ्यालेर चन्दाको धन्दा चलाउने हो भने नेतृत्वमा बसेर पद नओगट्नुहोस, राजिनामा दिएर बाटो लाग्नुहोस्।
नेपाल विद्यार्थी संघको इतिहासलाई बिर्सेर बर्तमानलाई बद्नाम गराउने छुट तपाई हामी कसैलाई छैन। नेपाल विद्यार्थी संघको अहिलेको नेतृत्वले गरेका पछिल्ला गतिविधिले नेपाल विद्यार्थी संघको वर्तमान दिनप्रतिदिन बद्नाम हुँदै गर्दा हामी यो समयको साक्षि बसेर यी गतिविधिमाथि तालि ठोकी रहने हो भने गर्विलो इतिहास बनाउन रगत बगाएका सहिदहरु प्रति अपमान हुनेछ भने नेपाल विद्यार्थी संघसँग जोडिन चाहेका नयाँ पुस्ताले हामिलाई धिक्कार्ने छन्। तसर्थ हामि इतिहास बनाउन रगत बगाएका सहिदहरु प्रति श्रध्दा सुमन प्रदान गर्न र नयाँ पुस्तालाई गर्व गर्न लायक बनाउन हामीले हाम्रा गतिविधि सच्याउँनै पर्छ।
(शाह नेविसंघका केन्द्रीय सदस्य हुन्)