चैनपुर । आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा १ का लागि हुन लागेको उपनिर्वाचनका लागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवार छनोटमा टुङ्गो लगाउन सकेको छैन ।
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते गर्नु पर्ने भएपनि नेपाली कांग्रेसले भने अहिले सम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा नै अन्यौल छ ।
गत असार ५ गते सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री रहेका पृथ्वीबहादुर सिंहको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागी नेपाली कांग्रेस बझाङबाट स्वर्गिय सिंहका छोरा अभिषेक बहादुर सिंह सहित १० जनाले उम्मेदवारी दिएसंगै उम्मेदवार चयनगर्ने विषय यतिबेला चुनौतीपुर्ण बनेको छ ।
उम्मेदवार चयनका लागी चैत २० गते मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकले पनि बझाङ प्रदेश सभा १ का लागि उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकेको छैन । बैठकमा स्वर्गिय सिंहका छोरा अभिषेक बहादुर सिंहको चर्चा भएपनि उम्मेदवारको टुङ्गो भने लागेको छैन ।
नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेर प्रचार प्रसारमा जुटीसक्दा पनि नेपाली कांग्रेसले भने आज मात्रै उम्मेदवार छान्ने जनाईएको छ ।
ईलाम क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागी नेकपा एमालेले स्वर्गिय सुवाचन्द्र नेवाङका छोरा तथा युवा नेता सुहाङ नेवाङलाई उम्मेदवार बनाएर न्याय दिए जस्तै बझाङमा पनि नेपाली कांग्रेसले स्वर्गिय पृथ्वी बहादुर सिंहका छोरा तथा कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा आमनागरिकले मिलेर जिताउनुपर्नेमा बझाङवासीले जोड दिएका छन् ।
बझाङ कांग्रेसमा उपनिर्वाचनका लागी आकांक्षी जति नै भएपनि सबै उम्मेदवारहरु मिलेर अभिषेक बहादुर सिंहलाई जिताए मात्र क्षेत्र नम्बर १ (क) लाई न्याय मिल्ने उनिहरुको भनाई छ ।
सिंहलाई आमा बुवा संगै गुमाउँदाको पिडा एकातिर छ भने उनका बुवाले बझाङ विकासका लागी देखेका सपना पुरा गर्ने हुटहुटी र जिम्मेवारी अर्कातिर रहेको छ । सिंहले स्व.बुवा पृथ्वी बहादुर सिंहको योगदानलाई आत्मसात गर्दै जनताको सेवाको लागि कामगर्ने बताउँदै आएका छन् । ‘बुवाले आफ्नो जीवनभर बझाङ जिल्ला वासीको सेवामा लाग्नुभयो, उहाँले धेरै सपनाहरु देखनु भएको थियो, जिल्लाको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासका लागि उहाँले धेरै योजनाहरु बनाउनु भएको थियो, अब ती योजनाहरु मैले पुरा गर्छु, बुवाको सपना मैले साकार गर्छु,’ उनले भने ।
को हुन् अभिषेक बहादुर सिंह ?
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री स्वर्गिय पृथ्वी बहादुर सिंहका छोरा तथा नेपाली कांग्रेसका युवा नेता हुन् अभिषेक बहादुर सिंह । नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका अभिषेक बहादुर सिंह २०५५ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका थिए ।
२०७२ सालमा नेपाल तरूणदल बझाङ क्षेत्र नं १ (क) क्षेत्रिय सभापति रहेका सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा म्यानअफ द ईलेक्सन भएर विजयी भएका थिए । ग्रामिण विकासमा स्नातकोत्तर गरेका सिंहले बाल्यकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए ।
विगतमा पर्दामा नदेखिए जिल्लावासीलाई उनले सुख र दुःखमा साथ दिएका छन् । उनले विगतामा सबैलाई मिलाएर सहकार्य एवम् समन्वय गरेको र बझाङ विकासका विभिन्न एजेण्डाहरुमा छलफल गरेका छन् । सिंह भन्छन् “बुवाले विकासका लागी देखेका सपना त छँदै छन्, सुखी बझाङ, सम्बृद्ध बझाङगी जनता बनाउने मेरो लक्ष्य रहेको छ ।”
स्व.मन्त्री सिंह र कांग्रेसमा उनको योगदान
बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए ।
पदभार ग्रहणपछि कार्यव्यस्तताले एक महिना पछि गृहजिल्ला भेटघाट, उद्घाटन तथा छलफलका लागी हिडेका मन्त्री सिंहले खुसी बाड् नपाउँदै गाडी दुर्घटनामा परि निधन भएको थियो । मन्त्री सहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।
बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए ।
२०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए । उनी २०३५ सालतिर नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए । त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बने । २०४९ सालमा उनी बझाङको तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए ।
२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भए, तर हारे । त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरे । पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए ।
२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए । ‘सरकारमा सहभागी भएपछि जिल्लावासी संग दःखसुख साटासाट गर्छु, र प्रदेशको हित हुनेगरी काम गर्छु’ भनेका मन्त्री सिंह जिल्लाबासीलाई धन्यवाद दिन जाँदा दुर्घटनामा परि मृत्यु भएको थियो ।



