काठमाडौं । विजय रावत र पुष्पा भण्डारीले तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन् । विजय पुरुष तथा पुष्पा महिलातर्फ पहिलो भएका हुन्।
शनिबार सम्पन्न प्रतियोगितामा विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे। १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमा दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेस्रो भए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन्। दोस्रो भएकी राममाया बूढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन्। १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा सुसन कार्की तेस्रो बनिन्। पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे।
पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए। सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै शर्मिला बस्नेत पहिलो भइन्। २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोस्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो भए । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजारका दरले नगद पुरस्कार पाए।
विजेतालाई पूर्वमन्त्री धनराज गुरुङ, पूर्वप्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे।




