आरके शर्मा, नयाँ दिल्ली / प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण सकेर स्वदेश फर्किने तयारीमा छन् । तर, नेपालको सार्वभौमिकता र राष्ट्रियतासँग जोडिएको नेपाल–भारत सीमा विवादको विषयमा उनले भारतीय नेतृत्वसँग कुनै कुरा उठाएको सार्वजनिक भएको छैन । भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा विषयमा सहमति तथा समझदारी भएका छन् । तर, ती कुनै पनि सहमतिमा लामो समयदेखि विवादित रहँदै आएका लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय समेटिएको छैन ।
नेपालको अभिन्न भूभागका रूपमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेट्दै आएको छ । यी भूभागलाई लिएर नेपालले पटक–पटक कूटनीतिक असहमति जनाउँदै आएको छ । तर, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यो विषयले प्राथमिकता नपाएको देखिएको छ । भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार, आपसी सहयोग र सहकार्य विस्तारको अवसरका रूपमा प्रस्तुत गरिए पनि सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले कुरा उठाए वा उठाएनन् भन्ने विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । उसाे त मेयर हुँदा बालेानले कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा नै राखेका थिए । यसभन्दा पहिलेका सरकारले सिमा विवादकाे विषय उठाउने गरेका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा सीमा विवादको विषय उठाउने अपेक्षा गरिएको थियो । तर, आठवटा सहमतिका विषय सार्वजनिक हुँदा पनि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे कुनै उल्लेख नहुनुले भ्रमणको प्राथमिकतामाथि प्रश्न उठाएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको विषयमा प्रधानमन्त्रीको मौनताबारे नेपालमा विपक्षी दलका नेताहरूले प्रश्न उठाएका छन् ।
सहमतिका ८ बुँदामा के छ ?
भ्रमणका क्रममा भएका आठवटा सहमतिमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनका विषय समेटिएका छन् । सम्झौताअनुसार गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका लागि समझदारी भएको छ ।
त्यसैगरी भारतीय सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीलाई तालिम दिने सहमति भएको छ । आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य सेवा, दिगो सहरी विकास, पशुपालन र मत्स्यपालनका क्षेत्रमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन् । स्याटेलाइट सञ्चारका क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ । दुई देशबीच प्राविधिक, प्रशासनिक र विकास साझेदारीका विषयमा सहमति हुनु सकारात्मक भए पनि नेपालको राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको सीमा विवाद भने यी समझदारीमा कतै उल्लेख छैन ।
ओलीले भनेका थिए– ‘हाम्रो भूमि फिर्ता लिएरै छाड्छौँ’, देउवाले मोदीसँग सीमा विवाद उठाए, बालेनको भ्रमणमा किन परेन ?
नेपालको प्रधानमन्त्री बनेर भारत भ्रमणमा जाने नेताहरूले सीमा विवादको विषयलाई कसरी उठाउँछन् भन्नेमा उनीहरूको राजनीतिक अडान र कूटनीतिक प्राथमिकता झल्किन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवादमा नेपालको भूमि फिर्ता ल्याउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए भने शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमै सीमा विवादको विषय उठाएका थिए ।
तर, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भने लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयले प्राथमिकता पाएको देखिएको छैन । भारतसँग आठवटा विषयमा सहमति तथा समझदारी हुँदा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवाद त्यसमा समेटिएको छैन । नेपालका यसअघिका प्रधानमन्त्रीहरूले भारतसँगको सम्बन्धलाई अगाडि बढाउँदा सीमा विवादलाई कसरी सम्बोधन गरेका थिए भन्ने उदाहरण ओली र देउवाका अभिव्यक्तिले देखाउँछन् ।
नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको थियो । भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटेपछि नेपालले त्यसको विरोध गरेको थियो । ओली नेतृत्वको सरकारले २०७७ जेठमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्यो । संविधान संशोधन गरेर नक्सालाई संवैधानिक मान्यता पनि दिइयो ।
ओलीले संसद्मै उभिएर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउने प्रतिबद्धता जनाएका थिए । उनले ‘हाम्रो भूभाग हामी फिर्ता लिएरै छाड्छौँ’ भन्दै यस विषयलाई केवल राजनीतिक नाराका रूपमा नलिन आग्रह गरेका थिए । २०२१ फेब्रुअरीमा पनि ओलीले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे तथ्य तथा प्रमाणका आधारमा खुला र मैत्रीपूर्ण संवाद गर्ने बताएका थिए । सीमा विवाद कूटनीतिक प्रयास र राजनीतिक संवादबाट समाधान गर्नुपर्ने उनको धारणा थियो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा सीमा विवादको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । २०२२ अप्रिल २ मा भारतको औपचारिक भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटवार्तामा सीमा विवादबारे छलफल गरेका थिए । संयुक्त पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘हामीले सीमाका सवालहरूमा छलफल गर्यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ।’
देउवाको उक्त अभिव्यक्ति भारत भ्रमणका क्रममा मोदीकै उपस्थितिमा सार्वजनिक भएको थियो । उनले सीमा विवाद समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र सक्रिय बनाउन भारतीय पक्षलाई आग्रह गरेका थिए । त्यती बेला भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले पनि नेपाल(भारत सीमा विवादबारे छलफल भएको स्वीकार गरेका थिए । उनले विवादलाई जिम्मेवार ढंगले संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए । यद्यपि भारतले सीमा विवादको विषयलाई राजनीतिकरण गर्न नहुने धारणा पनि राखेको थियो ।
बालेनको भ्रमणमा सीमा विवाद किन प्राथमिकतामा परेन ?
ओली र देउवाको अडानसँग तुलना गर्दा प्रधानमन्त्री बालेनको भारत भ्रमणमा सीमा विवादको विषय नसमेटिनु अर्थपूर्ण देखिन्छ । भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा विषयमा सहमति तथा समझदारी भएका छन् । फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालन सहकार्यका विषयमा समझदारी भएको छ ।
तर, यी आठवटै विषयमा नेपालको सीमा विवाद कतै उल्लेख छैन । लिपुलेक, कालापानी र लिम्पियाधुराबारे कुनै सहमति भएको सार्वजनिक जानकारी पनि आएको छैन । प्रधानमन्त्री बालेनले विगतमा भारतसँगको सीमा विवादबारे कस्तो धारणा राखेका थिए भन्ने विषयले पनि यसपटकको भ्रमणलाई थप चासोको विषय बनाएको थियाे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा भारतले सार्वजनिक गरेको अखण्ड भारतको नक्साको विरोधमा उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । तर, प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा सीमा विवादले कूटनीतिक प्राथमिकता पाएको देखिएन ।
यसअघि प्रधानमन्त्रीका रूपमा भारत जाँदा ओलीले नेपालको भूमि फिर्ता ल्याउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । देउवाले त मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमै सीमा विवाद समाधानका लागि आग्रह गरेको बताएका थिए । ओली र देउवाले भारतसँगको सम्बन्ध विस्तारसँगै सीमा विवादलाई पनि उठाएका थिए । बालेनको भ्रमणमा भने सहकार्यका आठवटा विषयले ठाउँ पाउँदा सीमा विवाद छुटेको छ ।
यसले केही गम्भीर प्रश्न जन्माएको छ- के प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँगको भेटमा सीमा विवादको विषय उठाएनन् ? उठाएका भए त्यसलाई सार्वजनिक नगरिएको हो ? नेपालको राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको विषय आठबुँदे समझदारीमा किन समेटिएन ? सरकारले यसबारे स्पष्ट पार्नुपर्ने विपक्षी दलका नेताहरूकाे माग छ ।

