काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभराम बस्नेतले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले खस–आर्यतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका बस्नेत शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति हुन्। उनी २०६५ सालमा शंकरदेव क्याम्पसको स्ववियु सभापति बनेका थिए। विद्यार्थी आन्दोलन हुँदै कांग्रेसको संगठन निर्माण र पार्टी राजनीतिमा सक्रिय रहँदै आएका बस्नेत अहिले सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिका रूपमा १५औँ महाधिवेशनमा सहभागी छन्।
बस्नेतले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, पार्टी एकता र कार्यकर्ताको सम्मानसँग जोड्दै आएका छन्। उनका अनुसार कांग्रेसको नेतृत्व तहमा पुगेर कार्यकर्ताको आवाजलाई प्राथमिकतामा राख्ने र संगठनलाई बलियो बनाउने उद्देश्यसहित आफू मैदानमा उत्रिएका हुन्।
खस–आर्यतर्फ सहमहामन्त्रीको एक पदका लागि जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ।
विद्यार्थी राजनीतिमा लामो समय संगठन निर्माणमा सक्रिय रहेका बस्नेतलाई कांग्रेसभित्र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने र संगठनमा कार्यकर्ताको संरक्षण तथा सम्मानको मुद्दा उठाउने नेताका रूपमा परिचित छन् ।




