सुमन प्रसाद अधिकारी । नेपाली राजनीतिको वर्तमान क्यानभास वैचारिक विचलन, अवसरवादको बाहुल्य र आस्थाको अनिकालले धमिलिएको छ। जब-जब सिद्धान्त र निष्ठाको जग डगमगाउँछ, तब-तब इतिहासले आफ्ना काँधमा नयाँ युगको कार्यभार थाम्न सक्ने देदीप्यमान चेतनाहरूलाई अग्रपङ्क्तिमा निसंकोच उभ्याइदिन्छ। सत्ताको अनवरत होडबाजी, गुटगत सङ्कीर्णता र मौसमी नाराहरूको कोलाहलबीच निष्ठा, सङ्घर्ष, लोकतान्त्रिक मूल्य र सुशासनको जगमा उभिएर एउटा दूरदर्शी एवं सबल राजनीतिक ब्रान्डका रूपमा उदीयमान नाम हो, श्यामराज ओझा।
श्यामराज ओझा केवल एउटा व्यक्ति वा नाम मात्र होइनन्; उनी त विद्यार्थी राजनीतिको रापतापमा खारिएका, विश्वविद्यालयको संरचनात्मक जीर्णता र बेथितिसँग निरन्तर टकराएका, र समाजका सीमान्कृत वर्गको आँसु पुछ्दै राष्ट्रिय राजनीतिको फलकमा आफूलाई स्थापित गराउन उन्मुख एउटा अटल भरोसा, अभूतपूर्व सङ्घर्ष र उज्यालो विचार-पुञ्ज हुन्।
सुदूरपश्चिमको डोटीस्थित के.आई.सिंह गाउँपालिकाको सादगी र भौगोलिक कठिनाइको कोखबाट सुरु भएको उनको जीवनयात्रा अभाव र असीम सङ्घर्षको जीवन्त दस्तावेज हो। बाल्यकालमै बाबुको स्नेही छहारी गुमेपछि जीवनका कठोर यथार्थहरूसँग आमनेसामने हुनुपरेका ओझाको चेतनामा राजनीतिको पहिलो बीजारोपण आफ्नी आमाको त्याग, समर्पण र उच्च राजनीतिक निष्ठाबाट भएको थियो। स्वयं नेपाली कांग्रेसकी निष्ठावान् कार्यकर्ता रहेकी आमाको पदचाप र लोकतान्त्रिक मूल्यप्रतिको अविचलित प्रतिबद्धतालाई आफ्नो मार्गदर्शक मान्दै ओझाले २०६४ को निर्वाचनमा मात्र ११ वर्षको कलिलो उमेरमा हातमा प्रजातन्त्रको पर्चा बोकेर जुन यात्राको थालनी गरे, त्यो कुनै बालकको क्षणिक कौतूहल मात्र थिएन,त्यो त भावी राष्ट्रिय राजनीतिमा एउटा निर्भीक र दूरदर्शी नेतृत्वको उदयको प्राक्कथन थियो।
करिब १४ वर्ष लामो अविरल, निष्कलङ्क र समर्पणयुक्त विद्यार्थी राजनीतिको कठिन यात्रा पार गर्दै एसियाकै विशाल र जटिल मानिने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित हुनु उनको राजनीतिक जीवनको एउटा ऐतिहासिक घुम्ती थियो। त्यो निर्वाचनमा उनको विजय केवल दलीय गणितको परिणाम थिएन; त्यो त विचार, कार्यक्षमता र निष्ठाको विजय थियो, जसले उनलाई ‘म्यान अफ द इलेक्सन’का रूपमा स्थापित गर्दै उनको सर्वप्रियता र सांगठनिक प्रभावको सर्वत्र पुष्टि गर्यो। २०७४ सालदेखि त्रिवि परिसरमा सुरु भएको उनको वैचारिक एवं आन्दोलनकारी यात्राले विश्वविद्यालयलाई दलीय भागबण्डाको अखडाबाट मुक्त गरी विशुद्ध शैक्षिक र अनुसन्धानमूलक थलो बनाउने दिशामा दूरगामी इट्टा थप्ने काम गर्यो।
शैक्षिक क्यालेन्डरको अनिवार्य कार्यान्वयन, प्रविधिमैत्री व्यवस्थापन, विकेन्द्रीकरण, विद्यार्थी हटलाइन सेवाको सञ्चालन र दलीय भागबण्डाको अन्त्यका लागि उनले चलाएको ८८ दिने ऐतिहासिक आन्दोलन होस् वा ‘मेरिटोक्रेसी’का आधारमा पारदर्शी नियुक्ति हुनुपर्छ भन्दै ५ हजार विद्यार्थीको हस्ताक्षर सङ्कलन गरी प्रशासनलाई जवाफदेही बनाएको प्रसङ्ग होस् , ओझा सधैँ प्रणालीगत सुधारको अग्रपङ्क्तिमा उभिए। प्रश्नपत्र चुहावट र दोहोरिनेजस्ता गम्भीर बेथितिविरुद्ध ६ महिनासम्म साङ्केतिक प्रतिरोध, सिट्ठी जुलुस र दीपान्नयनमार्फत गरिएका उनका सिर्जनशील आन्दोलनहरूले नेपाली विद्यार्थी राजनीतिमा रचनात्मक प्रतिरोधको नयाँ आयाम स्थापित गरे। आफ्नै पार्टी नेतृत्वको सरकार सत्तामा हुँदासमेत विद्यार्थी हितविपरीतका निर्णयहरूविरुद्ध नझुकी, लाठी, धरपकड र हिरासतको पर्वाह नगरी उभिनुले उनी केवल कुनै दलको अन्धभक्त कार्यकर्ता मात्र नभई आम विद्यार्थीका अभेद्य ढाल र प्रणाली सुधारका सच्चा अभियान्ता हुन् भन्ने तथ्यलाई अकाट्य रूपमा सिद्ध गर्यो।
स्ववियु सभापतिका रूपमा त्रिवि सिनेट सदस्यको भूमिका निर्वाह गर्दा उनले प्रणालीगत सुधारमा पुर्याएको योगदान अतुलनीय छ। अनलाइन कागजात सेवा, पारदर्शी छात्रवृत्ति वितरण, २४सै घण्टा पुस्तकालय सञ्चालन, र अध्ययन-अनुसन्धान केन्द्रहरूको पुनरुत्थानजस्ता कदमहरूले करिब पाँच लाख विद्यार्थी जोडिएको विश्वविद्यालय प्रणालीभित्र नयाँ आशाको सञ्चार गर्यो। आज विश्वविद्यालयभित्र करिब तीन लाख विद्यार्थी ओझाको विचार र कर्मसँग प्रत्यक्ष रूपमा परिचित छन् भने लाखौँ विद्यार्थी उनीसँग जोडिएर राजनीतिक पुनर्जागरणको अनुभूति गरिरहेका छन्।
तर श्यामराज ओझाको व्यक्तित्व केवल प्राज्ञिक घेरा वा भाषणका मञ्चहरूमा मात्र सीमित रहेन। वैश्विक महामारी कोभिड-१९ को कठीन समयमा जब हजारौँ विद्यार्थीहरू काठमाडौँका साँघुरा कोठाहरूमा भोक र त्रासले छटपटाइरहेका थिए, तब आफ्नो ज्यानलाई जोखिममा राखेर उनले सञ्चालन गरेको ‘मोबाइल भ्यान’ अभियान मानवीय संवेदनाको सर्वोत्कृष्ट नमुना थियो। कोठा-कोठामा पुगेर खाद्यान्न, औषधि र राहत सामग्री पुर्याउने उनको त्यो पहल राजनीतिभन्दा माथि उठेको निस्वार्थ जनसेवाको अभ्यास थियो। त्यसैगरी, आफ्ना हकअधिकारका लागि आन्दोलित राहत तथा करार शिक्षकहरूका पक्षमा उभिएर उनले दिएको तर्कपूर्ण, ओझिलो र साहनुभूतिपूर्ण गर्जनले देशभरका शिक्षक समुदायमा उनलाई न्यायको पर्याय बनाइदियो। तोडफोड र वितण्डामा होइन, संवाद, कूटनीति र समाधानमुखी अभ्यासमा विश्वास राख्ने उनको शैलीकै कारण उनी प्राध्यापक, कर्मचारी, सर्वसाधारण र विद्यार्थी,सबै वर्गका बीच समान रूपमा आदरणीय बनेका हुन्।
शैक्षिक र बौद्धिक रूपमा आफूलाई निरन्तर तिखार्दै लगेका ओझाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.फिल. (M.Phil.) अध्ययनरत रहनुका साथै अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर (MA) सम्मको उच्च शिक्षा हासिल गरेका छन्। सिद्धान्त र व्यवहारको यो विरलै पाइने सन्तुलनले उनलाई एक परिपक्व, गम्भीर र दूरदर्शी राजनीतिज्ञका रूपमा तयार पारेको छ।




