हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनबाट बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ पार्टीका प्रदेश सभापति हुन् ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मत पाए । १ मत बदर भएको छ । मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।

बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।

लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर