काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘देउता (भगवान) भेटन सहज छ, तर परराष्ट्रमन्त्री भेटन गाहरो’ रहेको टिप्पणी गरेका छन्। विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न नसक्ने तर सरकार मान्छेको बेचबिखनमा संलग्न रहेको गम्भिर आरोप उनले लगाए।

प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले रौतहटका जयप्रकाश साह विगत एक बर्षदेखी युक्रेनमा फसेको तर सरकारले उद्धारका लागि कुनै चासो नै नदिएको बताए। जयप्रकाश जस्तै सयौँ मान्छेहरु युक्रेनमा फसेको बताउदै उनले तिनिहरुको उद्धारमा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको जवाफ माग गरे।

परराष्ट्रमन्त्री आरजु राणालाई पीडित परिवारले भेटन नपाएको बताउदै उनले भने, ‘सभामुख महोदय मैले दुखका साथ भन्नुपरेको छ। देउता (भगवान) भेटन सहज छ, तर परराष्ट्रमन्त्री भेटन गाहरो छ। जयप्रकाशका श्रीमती एक बर्षको बच्चा बोकेर सरकारी अडामा भौतारिनुपरेको छ। तर उनले न्याय पाउन सकिरहेकी छैनन्। न्याय पाउन के गर्नुपर्छ ? म सरकारको जवाफ चाहन्छु।’

सरकारले विदेशमा अलपत्र परेका, बिभिन्न कारणले फसेका नेपालीको उद्धार गर्न नसक्ने तर नेपाली जनतालाई बेच्नमा व्यस्त भएको टिप्पणी आजपा अध्यक्ष साहले गरेका छन्। जयप्रकाशको परिवारले गत भदौमा बारा जिल्ला प्रहरीमा उजुरी गर्यो। पोर्चुगल पठाइदिन्छु भन्ने एजेण्टका बिरुद्धमा उजुरी दिएको थियो तर सरकारले कुनै कारवाही प्रक्रिया नै अगाडी नबढाएको बारेमा साहले सरकारको जवाफ माग गरेका छन्।

यस्तै, आजपा अध्यक्ष साहले तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना गरे। तराई मधेसका जनता खानेपानीका लागि तडपिरहेको, किसान मलखाद्यका लागि पर्खिरहेको, बिजुली बती झ्याप–झ्याप जाने गरेको लगायतका समस्याको बारेमा उनले सरकारको ध्यानाकर्षण गराए।

‘तराई मधेसमा खानेपानीको हाहाकार छ । काकाकुलको अवस्था छ । पानीपानी भन्दाभन्दै मान्छेहरु चुप लागे तर सरकारले पानी कहिले दिने हो ? सुन्नेहरुको काम पाकी सक्यो । म सरकारसंग जवाफ चाहन्छु, पानी दिने हो की नदिने हो ? कहिले दिने हो ? म जान्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारका मन्त्रीहरु, प्रधानमन्त्री विदेशबाट मिनिरल वाटर मगाएर खानुहुन्छ । तर नेपाली जनतालाई नेचुरल वाटर पनि पाइरहेको छैन् । म सरकारसंग सोध्न चाहन्छु खानेपानीसंगै मलखाद्यको जिम्मा तपाईको हो की होइन ? यदी मलखाद्यको जिम्मा हो भने किसानले किन मलखाद्य पाइरहेको छैन् ? भन्ने जवाफ सरकारसंग माग्न चाहन्छु ।’

मधेस सरकारले सुख्खा क्षेत्र घोषणा गरेको प्रति केन्द्र सरकारको धारणा के हो भन्ने बारेमा समेत उनले सरकारसंग जवाफ माग गरेका छन् । सुख्खा क्षेत्रका जनताले राहत पाउँने की नपाउँने, सरकारले के गरिरहेको छ ? सरकारको सोच र धारणा के हो ? त्यसबारेमा सदनलाई जानकारी गराउँन उनले माग गरे । यस्तै मधेसमा झ्याप–झ्याप बिजुली जाने गरेका बारेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर