काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ । विद्या च्यासल पुगेको केहीबेरपछि ओली पुगेका थिए ।
एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्तामा बसेका हुन् । विद्या दुई पटक राष्ट्रपति पद सम्हालेर राजनीतिमा फर्कन खोजिरहेकी छन् भने ओली विद्यालाई एमाले फर्काउने पक्षमा छैनन् । यही कारण उमाले सचिवालय बैठकमा कित्ताकाट नै भएको थियो ।
सदस्य नविकरणको विवाद
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता कर्ण थापालगायत भण्डारीकाे पक्षमा छन् । उनीहरु विद्याको सदस्यता पार्टीमा नविकरण भइसकेको दाबी गर्छन् । च्यासलमा बैठकबाट बाहिरिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताए । उनलाई सञ्चारकर्मीले पार्टीले सदस्यता त पेन्डिङमा राखिदियो नि ? भनेर प्रश्न गरेका थिए । जवाफमा पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’

एमाले फर्कन विद्यालाई कति सहज ?
अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेलसहितका उनी पक्षका नेताहरु विद्या राजनीतिमा फर्काउन नहुने पक्षमा छन् । तर, विद्या स्वयंले एमाले फर्कने भन्दै पूर्व राष्ट्रपतिका रुपमा पाउने सेवासुविधासमेत फिर्ता गरिसकेकी छन् । विद्याका पक्षमा पार्टीका पदाधिकारी तहकै नेताहरु खुलिसकेका छन् । उसो त एमालेभित्र मदन भण्डारीलाई मान्ने ठुलो पंक्ति छ । त्यो पंक्तिको समेत विद्याप्रति सहानुभूति देखिन्छ । यस्तो अवस्थामा विद्यालाई एमालेमा आउन रोक्नु ओलीका लागि सहज भने देखिँदैन । यद्यपी ओली उसै हार नमान्ने स्वभावका नेता हुन् । उनले केही गरि एमाले आउन नदिने नै संकल्प गरेमा भने विद्याका लागि पनि सहज हुनेछैन । तर, त्यस्तो अवस्थामा एमालेभित्र अन्तरद्वन्द्व चुलिने र पार्टी फुटकै तहमा पुिग्न सकने विश्लेषकहरु बताउँछन् ।
उसो त विद्याले आफू एमाले अध्यक्ष बने अरु वामपन्थी दलहरुसँग एकता हुन सक्ने भन्दै ओलीको भन्दा आफ्नो स्वीकार्यता बढि रहेको देखाइरहेकी छन् । प्रचण्ड, माधव नेपालसहित कांग्रेसका शेखर कोइरालासँगको विद्याले गरेको भेटले ओलीलाई प्रधानमन्त्रीबाटै पनि हटाउन सक्ने तागत आफूसँग रहेको सन्देश विद्याले प्रवाह गरेकी छन् । आजको वार्ता कसरी अघि बढ्छ ? त्यसले एमालेको भावी राजनीतिको दिशानिर्देश गर्ने देखिन्छ ।



