काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउनुभएकाे छ । डा. काेइरालालाई भेट्न निवासमा आइपुगेकाे नेपाल प्रजातन्त्र सेनानी संघकाे टाेलीसँग उहाँले १५ ओैं महाधिवेशनमा सभापति उठ्ने भन्दै साथ दिनका लागि आग्रह गर्नुभएकाे हाे ।
भेटका क्रममा प्रजातन्त्र सेनानीहरूले अहिले पार्टी विग्रिएकाे गुनासाे गर्दै पार्टी बचाउनका लागि अब सभापतिमा अघि बढ्न डा. काेइरालासँग आग्रह गरेका थिए । जवाफमा काेइरालाले भन्नुभयाे,`१५ ओै महाधिवेशनमा सभापति उठ्छु । तपाईहरूकाे दरिलाे साथ चाहियाे ।´
भेटका क्रममा डा. काेइरालाले प्रजातान्त्र सेनानीहरूले देशमा लोकतन्त्र ल्याउनलाई ठुलो योगदान नै नेपाल प्रजातन्त्र सेनानी संघको रहेकाे भन्दै राज्यले सम्मान गर्नुपर्नेमा त्यसाे हुन नसके भन्दै असन्तुष्टि जनाउनुभयाे । प्रजातन्त्र सेनानीहरूसँग उहाँले प्रजातन्त्रकाे सुदृढीकरण, प्रजातन्त्र सेनानीहरूकाे सम्मान र पुराना नेताकार्यकर्ताकाे संरक्षण र अवसरमा समान सहभागिताका लागि पनि आफूले नेतृत्व गर्न चाहेकाे काेइरालाले बताउनुभयाे ।
काठमाडौंमा बसेकाे संघकाे २ दिनकाे बैठककाे निर्णय सुनाउँदै अध्यक्ष बालकृष्ण दाहालले पार्टीमा वडा तहदेखि प्रजातन्त्र सेनानीहरूकाे प्रतिनिधित्व सुनिश्चिततासहितकाे मागपत्र पनि काेइरालालाई हस्तान्तरण गर्नुभयाे । `प्रजातन्त्र सेनानी संघकाे जायज मागलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा राखेर कार्यान्वयन गराउन पहल गर्छु ,´ मागपत्र बुझेपछि काेइरालाले भन्नुभयाे ।
उहाँले प्रजातन्त्र सुदृढ गर्नका लागि पार्टीभित्र असल नेतृत्व अपरिहार्य रहेकाे भन्दै आफूले नेतृत्व गरे सबैलाई न्याय गर्ने बताउनुभयाे । उक्त्त भेटघाट कार्यक्रमा नेपाली कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, किसान संघका पूर्वअध्यक्ष भानु सिग्देल, युवा नेता युवा नेता किरण किशाेर घिमिरे, विपिन अधिकारीलगायतकाे उपस्थिति थियाे ।



