स्याङ्जा : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्याङ्जा आउँदा आफुलाई ०४२ सालअघिको सम्झना ताजा भएको बताए । सत्याग्रहको प्रचार प्रसारका लागि स्याङ्जा आइपुगेको सन्दर्भ स्मरण गर्दै सिंहले ०४२ सालअघि पिताजी गणेशमान सिंहसहित स्याङ्जा पुगेको स्मरण गरेका हुन् । ‘यहाँ आउँदा पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडी सत्याग्रहको तयारीका बेला पिताजी गणेशमान सिंह, नेताहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला,शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठ दाईको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको सम्झना भयो,’ उनले भने । सिंह बुधबार भने सप्ताहमा सहभागि हुन यहाँ आइपुगेका हुन् ।

बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नुनै राजनीतिको धर्म भएको बताए । उनले मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरुले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको चर्चा गरे ।

‘समाजलाई अगाडी बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं । धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले भने, ‘ धर्ममा लागू हुने नीति र जुन मान्यता छ । त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ । व्यापारमा पनि धर्म हुन्छ । उद्योगपतिको नि धर्म हुन्छ । विभिन्न व्यवसायमा लागेकाहरुको पनि धर्म हुन्छ । राजनीति गर्नेहरुको पनि धर्म हुन्छ । समाजलाई हित हुने काम हामीले गर्नुपर्छ । सेवाभाव र समाजको हित हुने काम गर्नुनै राजनीतिको धर्म हो । ’ उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्धेश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाए ।

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर