काठमाडौं: नेपाली कांग्रेसले राजावादी प्रदर्शनकारीले तिनकुनेमा गरेकाे हिंसात्मक प्रदर्शनको निन्दा गरेको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमा रहेका कैयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कैयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं ।’
नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिने कांग्रेसले जनाएको छ । कांग्रेसले भनेको छ, ‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपिलसमेत गर्दछ ।’
कांग्रेसले हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गरेको छ । साथै हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन माग गरेको छ ।
विज्ञप्ति :




