काठमाडौं। विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ। आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए।
उनले भने, ‘१५ गतेको यो एकदमै वृहत् प्रदर्शनको कुरा छ त्यसलार्ई भव्य बनाउने। हजारौँ जनताको सहभागितालाई सुनिश्चित गर्ने र अहिले जसरी प्रतिगामी कदम र हर्कतहरु जो बढिरहेका छन् त्यसलाई क्रस गर्ने गरीकन अर्थात त्यसलाई असफल गर्ने गरीकन १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ भन्ने निर्णय गरिएको छ। संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ।’
यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ। दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए।
उनले भने, ‘भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया, उहाँहरुसागको परामर्श गर्ने कार्यक्रम राखिएको छ। दुई ढाई घण्टा त्यो अन्तरक्रिया चल्छ। साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गरिने छ। कुपण्डोलको हिमालयन होटेलमा दुवै कार्यक्रमहरु हुने छन्।’



