काठमाडौं । सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ। उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास तीव्रताका साथ गर्न आग्रह गरेका छन् । उनले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।
उनले भने, ‘रोजगारीका अवसरहरु सिर्जना गर्न हामीले उद्यमशिलतालाई जोड दिनुपर्छ। उद्यमशिलतार आधुनिकिकरण मार्फत मात्र रोजगारीको सम्भव छ । हामीले कृषिको आधुनिकिकरण गर्यौं भने त्यही बाट थप उद्यमशिलताको सिर्जना हुन्छ । त्यही बाट आम्दानी बढि हुन्छ। उद्यमशिलताको विकास गरौं, उद्यमशिलताको विकास तिव्रताका साथ गरौं, आधुनिकता तर्फको यात्रालाई तिव्रताका साथ अगाडि लगौं, उत्पादन, उत्पादोकत्व र विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं।’
साथै उनले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताए। उनले रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल रहने धारणा राखे । उनले समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे।
उनले भने , ‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन। सरकारी जागिर त सीमित छ । कहिले को रिटायर्ड हुन्छ र एउटा खाली हुन्छ। त्यो पनि लोकसेवाले परीक्षा हुनेगरी समानुकुल विज्ञापन आह्वान गर्छ। त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ।’ सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिंदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए।
उनले भने,‘रोजगारी अभिबृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ। श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरेमात्र यस्ताखाले सम्मेलनले सार्थकता पाउनेछन्।’



